सरकारी निवास गएनन् सभामुख



काठमाडौँ। शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेलाई लैनचौरस्थित सरकारी निवासमै बसाउने प्रयास गरेको छ।

निवर्तमान सभामुख अग्नि सापकोटा बस्दै आएको लैनचौरस्थित सरकारी निवासमा बस्न वर्तमान सभामुख घिमिरेले आनाकानी गरिरहेका छन् । संसद सचिवालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार सभामुखले लैनचौरस्थित सरकारी निवासमा दीर्घकालीन बसोबास हुन नसक्ने भएकाले नयाँ खोजी भएपछि सिधै त्यहीँ सर्ने बताएका छन् । नयाँ आवासको खोजी शहरी विकास मन्त्रालयले गर्ने पराजुली बताउँछन् ।

तर, शहरी विकास मन्त्रालयले सभामुखको निवासका लागि नयाँ ठाउँको खोजी गरेको छैन । ‘पहिला पनि सभामुख बस्दै आउनुभएको ठाउँ हो । त्यहीँ जानुस् भनेका हौं तर, उहाँ (सभामुख घिमिरे)ले निर्णय दिनुभएको छैन’, शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सहसचिव कुमार घिमिरेले भने ।

संसद सचिवालय र शहरी विकास मन्त्रालयले सभामुखका लागि नयाँ निवासको खोजी नगरी लैनचौरमै बसाउने प्रयास जारी राखेका छन् । तर, सभामुख घिमिरे लैनचौर गएका छैनन् । घिमिरे गत माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए ।

सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसिरहेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए ।

त्यसपछि सभामुख भएका सापकोटालाई लैनचौरस्थित सरकारी निवासमा राखिएको थियो । उपसभामुखमा इन्दिरा रानामगरले पनि सरकारी निवास पाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्