लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरको अन्तिम सम्झौता



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक-आपसमा गाभ्ने तथा गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भएको छ । काठमाडौंमा भएको कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मूल र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मर्जरसम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्रममा दुवै कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतका पदाधिकारीसमेतको उपस्थिति रहेको जनाइएको छ ।

सम्झौताअनुसार दुवै कम्पनी एक-आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारणसभामा लगिने जनाइएको छ । त्यसैगरी, दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति तथा डिडिए रिपोर्टसमेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) क्रमशः १००ः८० कायम रहने जनाइएको छ ।

साथै, दुवै कम्पनीको आव ०७८र७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात् स्वाप रेसियो गणना गरी मर्जरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ कायम रहने उल्लेख छ । मर्जरपश्चात् बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट तीन-तीनजना र एकजना स्वतन्त्र सञ्चालक रहने जनाइएको छ ।

सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सतर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको उल्लेख छ ।a

प्रतिक्रिया दिनुहोस्