सामान्य अङ्कले बढ्यो नेप्से



काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर २ हजार १ सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार आज २ सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ ।

आज लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । लगानी समूह शून्य दशमलव ३५, लघुवित्त समूह १५ दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ०५, अन्य समूह एक दशमलव २७ र व्यापार समूह तीन दशमलव ६३ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ८८ दशमलव ०५ र होटल तथा पर्यटन समूहको उपसूचकमा ५० दशमलव ४८ अङ्कको वृद्धि देखिएको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ६२, वित्त समूह नौ दशमलव ५४, जलविद्युत् समूह तीन दशमलव ७७, उत्पादन समूह २८ र निर्जीवन बीमा २० दशमलव ०५ अङ्कले बढेको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबीएल समृद्धि फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको ५ करोड ९३ लाख ३९ हजार ४ सय ४४ बराबरको २ लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्