परराष्ट्रमन्त्री विमला पौडेल आज श्रीलंका जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदैछिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्।

श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन्। शुक्रबार समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको उनले बताइन्।

सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसैदिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौड्याल माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्