रविले दिएको अल्टिमेटम सकिने दिन प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन्। गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन्।

बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई नै गृहमन्त्री यथाशीघ्र नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन्। गृहमन्त्रीको नियुक्तिबारे निर्णय लिन रास्वपाले २ दिनको अल्टिमेटम दिएको थियो।

रास्वपाले दिएको २ दिनको समय आज सकिँदै छ। यहीबीच सत्ता साझेदार दलका दुई शीर्ष नेताबीच छलफल भइरहेको छ। नागरिकता विवाद प्रकरणका कारण गृहमन्त्री पद छाड्न बाध्य रास्वपाका सभापति लामिछानेले नागरिकता सक्रिय गराएपछि पुनः गृहमै फर्किने इच्छा गरेका छन्।

तर उनीविरुद्ध राहदानी विवाद कायमै रहेको तथा नागरिकताका विषयमा सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आइनसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड गृहबारे निर्णय गरिहाल्ने पक्षमा छैनन्। सत्ता साझेदार दलको उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओली भने रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्