आईपीएल लिगका लागि कप्तान रुविना क्षेत्रीसहित ५ खेलाडी सिफारिस



काठमाडौं । भारतमा पहिलो पटक हुन लागेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ ।

राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस भएको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले ५ खेलाडीको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए।

‘वुमन्स प्रिमियर लिगमा सम्बन्धित देशको बोर्डले नै खेलाडीको नाम सिफारिस गरेर पठाएको हो। लिगमा एसोसिएट राष्ट्रका खेलाडीहरुको लागि पनि कोटा रहेकोले हाम्रो खेलाडीहरुको लागि पनि यो राम्रो अवसर रहेको छ’, पाठकले भने।

लिगका लागि यही फेब्रुअरी १३ मा अक्सन हुँदैछ। भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सीईओ हेमाङ्ग अमिनका अनुसार अक्सनका लागि एक हजार ५०० खेलाडीको नाम रजिस्टर भएको र यसै साता अक्सनको लागि अन्तिम लिस्ट सार्वजनिक हुनेछ।

अन्तिम लिस्टमा हुने खेलाडी अक्सनमा समावेश हुनेछन्। डब्लूपीएल आगामी मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ। जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल २२ खेल हुनेछ।

लिगमा हरेक टिमले बढीमा १८ खेलाडी राख्न पाउनेछन् भने कम्तीमा १५ खेलाडी हुनुपर्नेछ। यस्तै एक टिमले ७ जना विदेशी खेलाडी राख्न पाउनेछन् र त्यसमा एक जना एसोसिएट राष्ट्रको अनिवार्य हुनुपर्नेछ। प्लेइङ ११ मा पनि एक जना विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्