‘३५ लाख बढी युवा स्वदेश फर्किदा के हुन्छ ?’



जनकपुरधाम : प्रदेश सरकारलार्इ कृषि, पर्यटन र उद्योगमा बढावा दिन सुझाइएकाे छ । जनकपुरमा अायाेजित उद्योग, रोजगार र उन्नती विषयक एक दिने गाेष्ठीका वक्ताहरुले यस्ताे सुझाव दिएका हुन् । 

 

कार्यक्रममा सहभागी वक्ताहरुले नेताहरुलाई भाषणमा मात्र होइन अब निर्णय तहमा रहेकाहरुले प्रतिवद्धतासहित कार्यान्वयनका पक्षमा विशेष ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथिको तर्फबाट बोल्दै वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री राम नरेश राय यादवले प्रदेशको उद्योग सम्बन्धमा अध्ययन अनुगमनको लागि सरकारले कार्य अगाडि बढाएको बताए ।

 

वन, पर्यटन, उद्योग सबैको लागि संघीय सरकारको कानून नबनेकाे भएता पनि प्रदेश २ भित्र नीति आयोग र प्रदेश सरकारबीच विमर्श भइरहेको उनले बताए । मन्तव्यका क्रममा अधिकांश समय संघीय सरकारप्रति प्रहार गर्दै उद्योग मन्त्री यादवले प्रदेशभित्र रहेका व्यापरीलाई ढुक्क रहन आग्रह गरे ।

 

त्यस्तै प्रदेश २ का प्रदेशसभा सदस्य तथा राजपा नेपालका संसदीय दलका नेता परमेश्वर साहले प्रदेश सरकार अहिले नीति नियम बनाउदै अगाडि बढेको अवस्थामा यो कार्यक्रमले प्रदेश सरकारलाई अझ बढी जिमेवार बनाएको बताए । उनले प्रदेश २ भित्र उद्योग, कलकारखाना र व्यवसायीको सुरक्षा दिन सरकार प्रतिवद्ध रहेको बताए । 

 

विकास निर्माणको काम कुनै पार्टी विशेषको नबनाउन र निर्माणको कार्यमा सबै पार्टी एक भएर अगाडी बढ्ने बेला आएको नेकपाका प्रदेशसभा सदस्य बिन्नी उप्रेतीले बताए । उनले प्रदेश सरकारले साझा योजना बनाएर अगाडि बढे प्रदेश २ ले देशलाई धान्न सक्ने ठोकुवा गरे ।

 

चेतना नामक संस्थाको आयोजनामा भएको गोष्ठीमा धनुषा चेम्बर अफ कमर्शका अध्यक्ष विजय साहले नेताहरुले भाषण मात्र गरेर उद्योग र व्यवसाय नफस्टाउने बताए ।  प्रदेश २ सरकारले शान्ति, सुरक्षा र स्थान दिन सके नेपाल चेम्बर यस क्षेत्रमा लगानी गर्न तयार रहेको साहले प्रतिवद्धता व्यक्त गरे ।

 

जनकपुरको रामानन्द चाेकमा अवस्थित होटल सीता प्यालेसमा भएको एक दिने गोष्ठीमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले प्रदेश २ अझैं पनि अन्य प्रदेशको तुलनामा विकास निर्माणमा पछाडि रहेको बताए ।

 

जनकपुर र प्रदेश २ बाट व्यापारीहरु पलायन हुने गरेको उदाहरण दिंदै ललितले यसलाई रोक्न प्रदेश सरकारसँग आग्रह समेत गरे । उनले प्रदेश २ मा धार्मिक पर्यटन र प्रवर्धन गर्न उद्योगको स्थापना गर्नुपर्ने र उद्योगी व्यापारीको पलायन रोक्ने कार्य तत्काल थाल्नु पर्ने सुझाए ।

 

भारतीय पर्यटक वा अन्य बाह्य पर्यटकलाई जनकपुरमा कसरी रोक्ने त्यसबारे प्रदेश सरकारले के के गर्दै छ ? भन्ने प्रश्न तेस्र्याउँदै ललितले भने, 'जबसम्म हामी र हाम्रो स्थानीय सरकार र प्रदेश सरकारले अल्पकालीन् दीर्घकालिन् योजना ल्याउँदैन तबसम्म उद्योग, रोजगार र उन्नती प्रगति पथमा अगाडी बढ्दैन ।'

 

चेतनाका अध्यक्ष राजपा नेता वृखेश चन्द्रलालको अध्यक्षतामा भएको उक्त एक दिने गोष्ठीमा नेपाली कांग्रेसका नेता प्रदेशसभा सदस्य राम सरोज यादवले प्रदेश २ भित्र उद्योग स्थापना गर्न एउटा उच्चस्तरीय अनुगमन टाेली गठन भएकाले सम्भावना खोजी गरेर रिपोर्ट आएपछि सम्भावना युक्त उद्योग स्थापना गर्न सक्ने सुझाव दिए । पर्यटन, कृषि र उद्योगलाई अगाडी लिन सके प्रदेश सम्वृद्ध हुने उनले तर्क गरे ।

 

'हाम्रो यो क्षेत्र कृषि उपजको लागि उपयुक्त स्थान भए पनि सरकारको अदूर दृष्टिको कारण चुरे क्षेत्र मासिएको छ, अव्यवस्थित बासस्थान बढाइएको हुनाले आज कृषि योग्य स्थान बाँझो हुँदै गएको छ ।,' उनले भने । 

 

प्रतिपक्षको नाताले सरकारको प्रत्येक राम्रो कार्यमा आफू र आफ्नो पार्टी सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । 

 

त्यस्तै प्रदेशमा दक्ष जनशक्ति उत्पादनमाथि सरकारलार्इ विशेष ध्यान दिन आग्रह गर्दै इन्जीनियर सत्यनारायण साहले भने, ' जब सम्म हामी प्रत्येक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दैनौं तबसम्म कृषि लगायत अन्य कुनै क्षेत्रमा पनि विकास हुनै सक्दैन ।'

 

सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिंदै राजनीतिक दल र नेताले आफ्नो काम इमान्दारिताकासाथ गर्नुपर्नेमा शाहले जाेड दिए । उद्योग धनीलाई प्राेत्साहन गर्न र आफ्नै स्थानमा ल्याउन सक्ने योजना र उद्देश्य पनि स्पष्ट गर्न प्रदेश सरकारलाई इन्जीनियर साहले आग्रह गरे ।

 

३५ लाख १९ हजार व्यक्ति विदेश गएको अवस्थालार्इ ध्यानअाकर्षण गराउदै जनकपुर उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष तथा इन्जीनियर प्रकाश चन्द्र साहले भने, ' यदि विदेशबाट युवाहरु सबै फर्के के हुन्छ ? त्यसबारे सरकारले सोच्नुपर्ने बेला आएको छ ।'

 

किसान सुरक्षित नभएसम्म उद्योग फस्टाउन नसक्ने भएकाले किसानले लगाएकाे वालीको सुरक्षा दिन सरकार तयार हुनेपर्नेमा उनले जाेड दिए ।

प्रतिक्रिया दिनुहोस्