ग्वार्कोमा फ्लाइओभर निर्माणको काम सुरु भएसँगै बढ्यो जाम



काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणको काम सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । ग्वार्को चोकमा गत शनिबारबाट फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।

फ्लाइओभर निर्माणको काम नसकिएसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन ।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिनेछ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारीसाधन चढ्न १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ । काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो ।

प्रतिक्रिया दिनुहोस्