ल्होत्से मल लुटपाटमा संलग्न चालक र सह-चालकसहित १५ जना पक्राउ



काठमाडौं । प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताएका छन् ।

उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह-चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।

आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए । त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा। केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्