१३ वटा निजी छापाखानालाई ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्ने जिम्मा



काठमाडौँ । कक्षा १-५ सम्मका पाठ्यपुस्तक छपाई तथा बिक्री वितरण गर्नका लागि १३ वटा निजी छापाखाना छनौटमा परेका छन् । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका ४ रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी बिक्री वितरण गर्नका लागि १३ वटा फर्म र संस्थाहरू छनोट गरेको हो ।

उनीहरूलाई केन्द्रले पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम २०८० का लागि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिएको हो। त्यसका लागि ७ माघमा १५ दिने सूचना जारी गरेको थियो। आवेदन दिएका छापाखानाहरूमध्ये केन्द्रका महानिर्देशकको निर्णय अनुसार छनोट गरिएको हो।

छनोटमा परेका फर्म र संस्थाहरूलाई ७ दिनभित्रमा धरौटी र राजश्व जम्मा गरेर छपाइको अनुमति लिन केन्द्रले अनुरोध गरेको छ। नवीकरण फर्म र संस्थाले विगत वर्षमा जम्मा गरेको अद्यावधिक धरौटी भौचरको प्रमाणित प्रतिलिपि समेत केन्द्रमा पेस गर्नुपर्नेछ ।

छपाई अनुमति पाएका फर्म र संस्थाहरूमा केन्द्रले अनुगमन तथा निरीक्षण गर्नेछ। त्यो क्रममा नवीकरण रसूचीकरणका लागि पेस गरेका प्रस्तावमा पेस भएको विवरण बमोजिम नभएमा वा सो बमोजिम कार्य गर्न प्राविधिक रूपमा सक्षम नभएको खण्डमा उनीहरूको नवीकरण र सूचीकरण रद्द गरिने केन्द्रले जनाएको छ । यो वर्षदेखि निजीले कक्षा ५ सम्मको नै पाठ्यपुस्तक छाप्ने जिम्मा पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्