पर्सा प्रहरीद्वारा नक्कली सुन देखाई ठगी गर्ने ४ जना पक्राउ



वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली सुन देखाई ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिल बिनाको नक्कली सुन जस्तो देखिने पहेलो धातु देखाई बिक्री गर्न खोज्ने ४ जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ हिमालयन होटल अगाडीको सडखकण्डमा बिआर ३१ पी ०६४९ नम्बरको सेतो स्कारपियो गाडीमा बसी अपरिचित व्यक्तिहरुले सर्वसाधारणलाई बिस्कुट आकारको १ किलो लेखिएको नक्कली सुन देखाई भ्रममा पार्न खोजेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको हो ।

चेकजाँचका क्रममा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० बस्ने ३१ वर्षीय रामबिर चौधरी, वडा नम्बर ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नम्बर १८ का ३८ वर्षीय राकेश कुर्मी र वडा नम्बर १७ का २७ वर्षीय अवधेश कुमार रायलाई पक्राउ गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार उनीहरुको साथबाट बरामद गरिएको १ किलो लेखिएको बिस्कुट आकारको धातुलाई वीरगञ्ज सुनचाँदी व्यवसायी संघ माइस्थानमा पठाइ चेकजाँच गर्दा सुनको जलप लगाएको धातु भएको प्रतिवेदन प्राप्त भएको छ ।

पक्राउ परेका चारै जनालाई ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्