राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार गुरुङलाई



काठमाडौं : राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष पत्रकार कमला गुरूङ छनोट भएकी छन्।

राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक बर्ष प्रदान गरिने २० हजार रूपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘स्वास्थ्य खबरपत्रिकाकी वरिष्ठ संवादाता गुरूङ छनोट भएकी हुन्।

पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते मंगलबार बिहान ११ बजे कावासोती २ स्थित नवदुर्गा सामुदायिक वनको कार्यालय परिसरमा हुनेछ। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा हुने भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए। फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एकजना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।

विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन्।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन। राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन्। यो पुरस्कारको तेस्रो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्