जसपाले विस्तार गर्‍याे केन्द्रीय समिति



काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालयमा २ दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा)लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव (गुल्जारी) र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा र दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा)लाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको जसपाले जनाएको छ ।

त्यस्तै केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ । बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् ।

मूल व्यवस्थापन समितिले आवश्यकता अनुसार उपसमिति बनाउन सक्ने छ । विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्