राष्ट्रपति खोज्दै, दैलो चहार्दै



काठमाडौं । राष्ट्रपतिका लागि मङ्गलबार सुरु भएको दौडधुपले बुधबार पनि निरन्तरता पायो । राष्ट्रपतिको मनोनयन दर्ता गर्न २ दिन मात्र बाँकी रहँदा नेताहरूको दौडधुपले भावी राष्ट्रपतिका केही धूमिल अनुहार सतहमा देखिन थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पार्टीबाट सुवासचन्द्र नेम्वाङ र राष्ट्रिय सहमतिको विषयमा माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेसँगै राष्ट्रपति निर्वाचनको विषयले थप गति लिएको छ ।

राष्ट्रपतिकै लागि बुधबार बिहानैदेखि नेताहरूको दौडधुप देखियो । बुधबार एउटा पार्टीका नेता आफ्नो प्रस्ताव लिएर अर्को पार्टीका नेतालाई भेट्न हतारिइरहेका थिए । बिहानै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू देउवा निवास धुम्बाराही पुगेका थिए । महन्थ ठाकुरको सक्रियता बढेसँगै नेकपा एमाले अध्यक्ष केपी ओली पनि आफ्नो प्रस्ताव लिएर प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए ।

ओलीले राष्ट्रपतिमा आफ्नो नाम प्रस्ताव गरेपछि अन्तरिक छलफल गरेका माधवकुमार नेपाल कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास पुगेका थिए । राष्ट्रपतिमा नेपालको नामले चर्चा पाएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेकपा एसका अध्यक्षलाई भेट्न पार्टी कार्यालयमै पुगेका थिए । नेताहरूको दौडधुप चलिरहँदा अबेर साँझ कांग्रेस सभापति देउवा उपसभापति, महामन्त्रीलगायत शीर्ष नेतालाई लिएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

लोसपाका ठाकुर र देउवाबीच भेट

बुधबार बिहान लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । मङ्गलबार प्रचण्ड र ओलीलाई भेटेका उनीहरूले बुधबार देउवालाई भेटेका हुन् । राष्ट्रिय सहमतिको चर्चा चलिरहँदा ठाकुरको नाममा सबैले समर्थन गर्न सक्ने लोसपाका नेताहरूको बुझाइ छ ।

त्यो भेट सकरात्मक भएको लोसपाका नेताहरूले बताए । तर, पार्टीभित्र छलफल गर्ने आश्वासनबाहेक ठाकुरले कुनै बलियो आधार उक्त भेटमा पाउन सकेनन् । सहमतिको परिस्थितिमा ठाकुर उपयुक्त पात्र भएको कांग्रेसले पनि स्वकारेकाले उनको पक्षमा निर्णय भएको अवस्थामा पनि अचम्म मान्नुपर्ने देखिँदैन ।

नेम्बाङ र नेपालको प्रस्ताव लिएर ओली बालुवाटार

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र राष्ट्रिय सहमतिको विषयमा नेकपा एकीकृत समावजादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा ओलीले ती २ नाम सिफारिस गरेका हुन् । ओलीले गठबन्धन बनाउँदाको सहमतिअनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई समर्थन गर्नुपर्ने बताइरहेका छन्- चाहे त्यो नाम नेम्बाङको होस् वा नेपालको ।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति छान्न समस्या हुने भए कांग्रेसले पनि नकार्न नसक्ने नाम नेपालको भएकाले पनि नेपाललाई राष्ट्रपतिको दोस्रो उम्मेदवारको रूपमा ओलीले राखेका छन् ।

राष्ट्रपतिमै छलफल गर्न नेपाल देउवा निवास

माधवकुमार नेपालको नाम राष्ट्रपतिमा उठेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको टोली कांग्रेस सभापति देउवा भेट्न बुधबार नै धुम्बाराही पुगेको थियो । पार्टीको बैठकमा एमाले अध्यक्ष ओलीले आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताएका नेपाल आन्तरिक छलफलपछि धुम्बाराही पुगेका हुन् । बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव वेदुराम भुसाल, घनश्याम भुसाललगायत नेता धुम्बाराही पुगेका थिए । माधव नेपालसहित एकीकृत समाजवादीका नेताहरूको टोली धुम्बाराही पुग्नुअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि देउवालाई भेट्न गएका थिए ।

नेकपा एसकोे कार्यालयमा रामचन्द्र पौडेल

राष्ट्रपतिको चुनाव नजिकिएसँगै बढेको दौडधुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । उनी नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न समाजवादीको कार्यालय आलोकनगरमै पुगेका थिए । राष्ट्रपतिको रेसमा नेपालको पनि नाम आएपछि पौडेल नेपाललाई भेट्न गएका हुन् । पौडेल आफैँ राष्ट्रपतिको दौडमा रहेकाले सबै पक्षसँग सहमति जुटाउने तयारीमा उनको पनि पहल जारी छ । तर, कांग्रेसले अहिलेसम्म पार्टीका तर्फबाट कुनै आधिकारिक उम्मेदवार सार्वजनिक गरिसकेको छैन ।

नेपालसँगको भेटपछि देउवा बालुवाटारमा

बुधबार अबेर साँझमा कांग्रेस सभापति देउवासहित केही शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थियो । बुधबार बिहान लोसपाका नेता र साँझ नेकपा एसका नेताहरूसँग भेटेपछि कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

नेकपा एससँग छलफल चलिरहेकै समयमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका थिए । त्यसको केही समयपछि मात्र देउवा बालुवाटार गएका थिए । राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने अडानमा रहेको कांग्रेस जसरी पनि एमालेलाई रोक्ने पक्षमा छ । तर, राष्ट्रिय सहमति भनिरहँदा कांग्रेस आफैँ भने आफ्नो पार्टीका व्याक्तिलाई जसरी पनि राष्ट्रपति बनाउने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्