प्रजातन्त्र कि दलतन्त्र ?



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । वैदिक साहित्यमा प्रजाको अर्थ सबै प्राणी भन्ने बुझिन्छ । ब्रह्माण्डभरिका सबै प्राणीको रक्षा गर्नु तत्तत् राजनीतिक सिमाना र नामधारी देशहरूको काम पनि हो । सबैको कल्याणका नाममा विषयपिच्छेका ठूला अन्तर्राष्ट्रिय एजेन्सी वा भनौँ, संस्थाहरू पनि खुलेका छन् । कुनै संयुक्त राष्ट्रसङ्घका नामले, कुनै विश्व स्वास्थ्य वा विश्व व्यापार सङ्गठनका नामले वा यस्तैयस्तै तमाम सङ्घसङ्गठनहरूले पनि आशाप्रद परिणाम भने देखाउन सकेका छैनन् ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्दै हामी पनि उफ्रिरहेका छौँ तर हाम्रो प्रजातन्त्र हेर्दा वा लोकतन्त्रको दर्पण नियाल्दा यो केवल भीडतन्त्र, लोभतन्त्र बा दलतन्त्र देखिएको छ । ७ फागुनमा न स्वदेशभित्रका जनताको उत्साह छ, न त रोजीरोटीका लागि परदेशिएकाको उत्साह नै । उत्साह छ त दलका मान्छेहरूका आममाफी, जेलबाट छुट्कारा वा दलकै मान्छेका लागि पुरस्कार र विभूषणको बाढी आउनेहरूलाई मात्र ।

नितान्त प्राज्ञहरूको जमघट हुने थलो यस्ता संस्थाहरूमा भएका पछिल्ला नियुक्तिहरूले पनि दलतन्त्रको अनुहार स्पष्ट देखाएको छ । २०४६ सालसम्म देशमा कसैकसैको मात्र रैती बने नेपालीहरू तर त्यसपछि त धेरैले रैती बनाए नेपालीहरूलाई । स्वदेशीले मात्र बनाएनन्, विदेशीले पनि । अब त स्पष्टै छ-नेपाल भनेको विदेशीहरूको क्रीडास्थल हो । उनीहरूकै इशारामा यहाँको सङ्घीयता चल्छ, यहाँको गणतन्त्र चल्छ अनि यहाँको लोकतन्त्र चल्छ ।

आज देशैभरि सरकार छ, जिल्ला जिल्लामा छ, टोलटोलमा सरकार छ तर को कसको सरकार स्पष्ट भन्न सकिँदैन । केन्द्र पनि खिचडीमा छ । एउटै एजेन्डा बोकेकाहरूको दुई तिहाइको संसद् त कोमामा गयो, दुर्घटना भयो, अहिले थरिथरिका सिद्धान्त र एजेन्डा बोकेको संसद्ले केही गर्ला भनी कसरी भन्ने ? एउटा दलको केही छन्, तुरुन्तै अर्कोमा परिवर्तन, नाम, चुनाव चिह्न, एजेन्डा को कसको के भन्ने अस्पष्ट छ । स्थानीय सरकार भन्दै आफैँ राजपत्र प्रकाशन गरेर जनताको घाँटी निचोर्नेगरी कर जम्मा गर्दै जनदोहन गर्दै छ भने त्यतिले नपुगेर टोलटोलका समितिहरूले टोलबासीको निद्रा हराम हुनेगरी महिनैपिच्छे पैसा मनग्य असुल्ने गरेका छन् । ढलको नाममा असुल्छन्, खानेपानीले पानीको बिलिङ गर्दै ढल महसुल लिन्छ, पालिकाहरूले पैसा बढी भएर सीसी क्यामेरा जडान गरेजस्तो गर्छन्, त्यसमा पनि टोलेहरूले पैसा असुल्ने गरेका छन् ।

पैसाको खाल थाप्न २ आना जग्गामा मन्दिर उठाइन्छ, बाटो रोकिन्छ, ग्यास सिलिन्डर, फोहोरको गाडा, दमकल, एम्बुलेन्स, ट्याक्सी नछिर्ने गरी ढसमस्स मन्दिर बनाएर टोलेहरू पैसा सङ्कलन गर्छन् । धर्मको नाममा व्यापार हुन्छ, धर्म निरपेक्ष भन्दै विदेशी धर्मको स्वागत हुन्छ, आफ्ना शालिग्राम शिलाहरू विदेश लगिन्छ, अरूलाई देखाउन क्विन्टल सुन मन्दिरमा हालिन्छ । फोहोर उठ्दैन, पैसा बढिरहन्छ, उठ्दा गाडी १ किलोमिटरसम्म पर हुन्छ, उपभोक्ताहरूले फोहोर घिसारेर लैजाँदा बाटो थप फोहोर बन्छ । खानेपानीको मिटर हावाले अङ्क चढ्छ, महसुल पानी नआए पनि बढिरहन्छ ।

सवारी साधनहरू राख्ने ठाउँ कतै छैन, कतै एकातिर बाटोमा पार्किङ गरिन्थे बाइकहरू, अब त्यो पनि हटाइएको अवस्था छ । बाटो साँघुरो छ, ट्राफिकले अनेक बहाना बनाउँदै बाइक वा अन्य सवारी साधनसँग पैसा असुल्छ । स्थानीय पालिकाहरूसँग धेरै पैसा छ, ठेकेदारी र निर्माण काममा अग्रसर हुन्छन्, बिहान–बेलुकी हिँड्ने ठाउँ छैन, नदी किनारा छेउ चारैतिर बार, पर्खालहरू लगाइन्छ । साधारण ब्लकहरू राखे हुने बाटाघाटाहरू फलामे ढलान त्यसपछि पिच गरिन्छ र जमिनभित्र वर्षामा पानी पस्न पाउँदैन ।

राजनीतिमा सत्ताको युद्ध भइरहन्छ । बहुमतको शासन पनि हुँदैन । सयौँ सिटको प्रतिनिधिसभामा डेढ-२ दर्जन सिट ल्याउनेले बालुवाटार, सिंहदरबार र शीतल निवास देखिरहन्छ । प्रधानमन्त्री जनताले बनाउँदैनन्, दलहरूले बनाउँछन् अनि राष्ट्रपति आमजनताले होइन, दलहरूका च्याँखे दाउले बन्न खोज्छ । आफ्नो महल हुनेले पनि राज्य दोहन गरेर सबै किसिमका सुविधा लिने गर्छन् । उपचार खर्चका नाममा राज्य दोहन हुन्छ, सुरक्षा खर्चमा अर्बौं रकमले दल र तिनका आफन्त पालिन्छन्, आमगरिब नेपाली अस्पतालबाटै फालिन्छ ।
देशको जेठो अस्पतालमा भीआईपी बेडहरू छन् सुरक्षित तर त्यहाँ कोही पुग्दैन, पुग्छन् बरु राज्य दोहन गर्दै एयर एम्बुलेन्स लिएर विदेश, करोडौँ रूपैयाँको खर्च सरकाले भुक्तानी गर्छ । बेसहारा नेपाली पोलिएर छट्पटीमा हुन्छ, उसका लागि मृत्युको विकल्प छैन ।

देशैभरि पोलाइ र जलनले मान्छे मर्छन्, दार्चुलादेखि ओलाङ्चुङ्गोलासम्मका बिरामीहरू या त कसैले बनाइदिएको कीर्तिपुर आउनुपर्ने या सुष्मा मेमोरियल वा काठमाडौंतिर कतै मात्र । दलहरूले प्रदेश बनाए तर प्रदेशपिच्छे बर्न अस्पताल किन बनाएनन् ? यात्रुबिना नै अन्तर्राष्ट्रिय एयरपोर्ट उद्घाटनको हतारो हुन्छ तर त्यस्ता एयरपोर्ट आसपास बर्न अस्पताल किन बनेन ? जहाज दुर्घटना हुँदा पोखरामा कोही जिउँदो थियो भने उसको उपचार कहाँ कसले गथ्र्यो ? जुम्ला बा ताप्लेजुङमा आगलागी कति पटक भयो र त्यस आसपासमा बर्न अस्पताल किन बनेन ?

अब १ जना नेता जलनमा पर्दा वीर अस्पतालले मुख खोल्यो– बर्न युनिट राख्ने भनेर । तर, केही वर्षअघिसम्म त्यही अस्पतालमा सुविधा सम्पन्न वर्न युनिट थियो, पङ्क्तिकारलाई याद छ-डा. केडी दास थिए, जतिबेला पनि व्यस्त रहन्थे, वर्षौंसम्म त्यहाँ बर्न युनिटबाट हजारौँ बिरामीहरूले राम्रो उपचार पाएका थिए, केही वर्षदेखि त्यो सुविधा छैन अहिले । त्यही अस्पतालमा स्त्रीरोग र प्रसूतिको राम्रो सुविधा थियो । आफ्नै परिवारको समेत लेप्रोस्कोपी अपरेसन गर्ने डा. सरस्वती यतै कतै होलिन् अझै । त्यही अस्पतालमा आँखाको ओपीडी सेवा पनि थियो ।

एउटा गुलेलीले धेरै चरा ताक्नुपर्ने हाम्रो परिवेश नयाँ होइन, बाध्यताहरू धेरै छन् । ती सेवाहरू पुनस्र्थापनको प्रयास भयो रे अहिले । हाम्रोमा संस्थागत मेमोरी भत्काउने ठूलै प्रयास हुन्छ । म चिन्दिनँ डा. भूपेन्द्र बस्नेतलाई तर सुनेको उनी त्यहाँबाट हटे रे अहिले । नयाँ सर्जिकल भवनको सेवा राम्रो लागेर पङ्क्तिकारले पनि एउटा अप्रेसन हालै गरेको हो त्यहाँबाट । यी पङ्क्ति तयार गर्दा एउटा फोन आयो । एक जना आफन्त महिलाको पाठेघरको ट्युमर देखिएर निजी अस्पताल भर्ना भइन्, अप्रेसन भयो रे ! तर, १ दिनको बेड चार्ज मात्र ११ हजार रूपैयाँ ! अरू दस्तुर कति होला ? घटीमा पनि १५ दिन बस्नुपर्छ रे ! यो सह्य छ र आमनेपालीलाई ? शिक्षा र स्वास्थ्यमा दलहरूकै तन्त्र छ र त घरखेत बेचाएर पनि पैसा असुल्ने गरिएको छ ।

पूर्वका एक जना युवाले संसद् भवन अगाडि नै किन आत्मदाह गरे ? धेरै वित्तीय संस्थाहरूले मनोमानी तनाव दिएका छन्, तिनलाई मात्र होइन, धेरैलाई र त पेसा, व्यवसाय अँगाल्न नसकेर खाडीमा भासिए आत्मबल हुनेहरू, नहुनेले त आत्मदाह नै गरेका छन् । यति धेरै मानवीय सम्वेदनशीलता हराएको दलतन्त्रकै कारण त हो । किन उद्योगधन्दाहरू कौडीको मूल्यमा बेचिए ? किन बेरोजगार बनाइयो आमनेपालीहरूलाई ? धान, चामल निर्यात गर्ने, तयारी पोसाकहरू अमेरिकासम्म बेच्ने, गलैँचा, ऊनी धागोको मनग्य अन्तर्राष्ट्रिय व्यापार गर्ने देशमा किन २० खर्ब रूपैयाँको व्यापार घाटा छ अनि त्यति नै ऋण किन ?

ऋणको भारी बोकाएर नेपालीहरूलाई महँगो गणतन्त्र र सङ्घीयता किन ? नेपाली भएपछि नेपालीकै स्तरमा नबसेको किन ? यहाँ सबैलाई मूल्य चाहिएको छ, महŒव चाहिएन । सबैलाई धनी हुने रहर छ, खुसी लिनु र दिनुपरेको छैन । चुनाव भएपछि सबै समाधान हुन्छ भनियो तर अस्थिरता दशकौँसम्म उस्तै छ, सङ्क्रमण जहाँको त्यहीँ छ, अर्थ चक्र उल्टो घुमिसकेको छ । विकासका लागि गरिने पुँजीगत खर्च गर्ने आँट छैन, दलहरूको भरणपोषणका लागि चालू खर्च दोहन तीव्र छ ।

असारे विकासले बस्ती उजाड छ, जलवायु परिवर्तनको सङ्कट, अन्न उब्जामा व्यापक कमी, दिनभरिको सबै सामान विदेशबाट ल्याउनु पर्ने, केवल मोबाइलमा खेलेर मस्ती गर्ने हो भने काम कसले गर्ने ? सबैले केवल उपदेश दिने तर उदाहरण कसैले बन्नु नपर्ने, धर्म बेच्नै पर्ने, अरूको इशारामा चल्नै पर्ने, संस्कृतिमा विकृति ल्याउनै पर्ने, आफूले मस्ती गर्न पाएपछि सबैले गरेको सम्झने यो राजसी शैलीले देश उँभो लाग्दैन ।

आर्थिक सूचकाङ्कहरू आशाप्रद छैनन् । हत्या गरेर आरम्भ भएको दिनलाई दिवस भन्दै सार्वजनिक बिदा दिएर खाटा बस्न लागेको घाउलाई कोट्याउने काम भएन र ? यदि त्यसि दिनको उद्देश्य राम्रो हो भने त्यतिबेला सम्बद्ध सबै नेतागण लाखापाखा नलागी एकै ठाउँमा बसेर दशकौँसम्म आफ्नो रणनीति, लक्ष्य, उद्देश्यअनुसार राज्य सञ्चालन गरेर आमनेपालीको मन छुन सकेको भए बेस हुन्थ्यो ।

जनता रैती नै बन्नुपर्ने धेरै राजा महाराजाहरूलाई पाल्नुपर्ने, आफू भने कोही आत्मदाहमा, कोही खाडीमा वा त्यहाँबाट फर्केर बाकसमा, अनि, यता बसेकाहरूलाई पनि नानाथरिको सकस दिएर कसरी हुन्छ र ! परिवर्तन वा क्रान्ति गर्नेले क्रान्ति सफल मात्र पार्ने हो, सत्ताको स्वाद लिने होइन । विदेशमा आमूल परिवर्तनकारीहरू सत्तामा लोभिँदैनन्, सत्ताको चास्नीमा डुबेपछि छाड्नै मन लाग्दैन । यहीँ पनि परवर्तनकारी गणेशमान, कृष्णप्रसाद, मनमोहनहरूले सत्तामा मरिहत्ते गरेजस्तो लाग्दैन । गोल्डेन टचको कथा पढेको बाल्यकालमा, सुनले पनि काम नगरेको र अन्त्यमा घाटमा जाँदा लगाउने कपडामा बगली नहुने त सबैलाई अवगतै पनि छ ।

प्रतिक्रिया दिनुहोस्