प्रधानमन्त्री प्रचण्डको घोषणा : जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले भने, ‘आज जनयुद्धको क्रममा प्रथम पटक बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ।’

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए । उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका सहिदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ। त्यसका लागि विधेयक महत्त्वपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्