सन्दीपले यूएईमा खेल्न पाउनेमा सन्देह



काठमाडौं । देश छाड्न नपाउने उच्च अदालत पाटनको आदेश बदर गर्दै सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिए पनि उनी यूएईमा जारी क्रिकेट प्रतिस्पर्धाको मैदानमा देखिनेमा भने संशय देखिएको छ। सोमबार सर्वोच्च अदालतले लामिछाने र सरकारी वकिलका तर्फबाट पेस भएका बेग्लाबेग्लै निवेदनमा सुनुवाइ गर्दै यसअघि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवा गर्दै अन्य विषयमा भने उच्चकै आदेश सदर गरेको छ।

यो सुविधालगत्तै नेपाल क्रिकेट सङ्घ (क्यान) र लामिछाने दुवैले यूएईमा जारी क्रिकेट वल्र्डकप लिग–२ प्रतिस्पर्धामा खेलाउन र खेल्न रुचि देखाएका छन्। मङ्गलबार नेपालले यूएईको सामना गर्दै छ। सोमबार पपुवा न्युगिनीसँगको जितसहित नेपालले शृङ्खलाको सुरुवात गरिसकेको छ।

बलात्कार अभियोगमा उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनलाई नेपाली क्रिकेट टिमको अभ्यास खेलमा मात्र होइन, घरेलु मैदानमा भएको लिग–२ अन्तर्गतकै त्रिदेशीय शृङ्खलामा मैदानमा उतारिएको थियो। तर, यूएईमा जारी खेलका लागि अन्तिम टिम घोषणा हुँदा भने विदेश जान लगाइएको प्रतिबन्धका कारण लामिछाने टिममा परेका छैनन्। अदालतको आदेशपछि आईसीसीले जारी खेलमा सहभागी हुन पाउने निर्णय गरेको अवस्थामा पनि मैदानमा उत्रिन भने उनलाई प्राविधिक समस्या देखिने खेलका जानकारहरू बताउँछन् ।

नेपालले सन्दीपलाई सहभागी गराउन यूएईमा रहेका खेलाडीमध्ये कसैलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यसबारेमा नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्राविधिक समितिले प्रक्रिया सुरु गर्ने बताएका छन् । उनले शृङ्खलाका बाँकी खेलमा सन्दीपले खेल्ने विषयमा चन्दले भने, ‘आईसीसीले सबै प्रक्रिया सहज बनायो भने खेल्ने सम्भावना रहन्छ। तर, कुन खेलबाट र कहिलेदेखि भन्ने प्रष्ट छैन।’ चन्दको दाबीका बाबजुद प्रतिस्थापनका लागि क्यानका सामु नैतिक सङ्कट भने रहनेछ।

शनिबार क्यानले सन्दीपबाहेकका १५ खेलाडीको नाम घोषणा गरेको थियो। सोही नामावली आयोजक कमिटीलाई पनि उपलब्ध गराएको थियो । यी १५ मध्येका मैदानमा उत्रिने ११ तथा वैकल्पिक फिल्डर ३ जनाको नामावली गेममा टस हुनुअघि बुझाइसक्नुपर्नेछ। उपयुक्त कारणसहित विपक्षी टोलीको कप्तानको सहमतिमा मात्र एक पटक बुझाइएको यो १४ जनाको नामावली परिवर्तन हुन सक्नेछ। कुल १५ जनाको टोलीमा प्रतिस्थापनका लागि भने चित्त बुझ्दो आधार सम्बन्धित टोलीले उपलब्ध गराउनुपर्ने हुन्छ।

यूएईमा भएका खेलाडीमध्ये कसैलाई सन्दीपकै कारण टोलीबाहिर राख्न नैतिक सङ्कट क्यानका सामु छ। एक क्रिकेट प्रशिक्षक भन्छन्, ‘सायद कुनै खेलाडीलाई पहिले नै सन्दीपलाई विदेश भ्रमण गर्न अदालतले छुट दिएमा टोलीबाट हट्ने कुरामा आन्तरिक सहमति गराउँदै टोलीमा समावेश गराइएको हुन सक्छ।’

क्रिकेटको नियमअनुसार टोलीबाट कुनै खेलाडी खेल्न असमर्थ रहेमा चित्तबुझ्दो कारण उल्लेख गर्नुपर्ने हुन्छ। त्यसो भएमा उसको स्थानमा अन्य खेलाडीलाई प्रतिस्थापन गर्न सकिनेछ। चन्द आफैँ पनि प्रतिस्थापनको समय सकिए पनि आईसीसीसँग समन्वय गरिरहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्