सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिएर प्रदेश मन्त्रिपरिषद विस्तार गर्ने उनले बताएका छन्। गठबन्धन दलमा रहेका अन्य दल विश्वासको मत दिन तयार देखिए पनि माओवादी केन्द्रले भने विश्वासको मत लिनुअघि मन्त्रालय भागबण्डाको टुंगो लाग्नुपर्ने जनाएको छ।

मुख्यमन्त्री शाह माओवादीलाई सहमत गराउन छलफलमा छन्। विश्वासको मत लिन नसकेपछि यसअघिका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेको थियो। ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।

शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी तयार छन्। यसअघि एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति यस पटक कांग्रेसलाई विश्वासको मत दिने बताएको छ।

यसअघि विनाविभागीय मन्त्री रहिसकेका माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुंग्याएर मात्रै सरकारमा सहभागी हुने पक्षमा निर्णय हुने बताए।

प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने उनले बताए। महत्त्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्