विश्वकप क्रिकेट लिग-२ : युएईविरूद्ध नेपाललाई पाँचौ सफलता



काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएईविरूद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पाँचौ सफलता हात पारेको छ। नेपालका लागि आरिफ शेखले पाँचौ सफलता दिलाएका हुन्। उनले आलिशान सराफूलाई २ रनमा आउट गराए।

त्यसअघि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। लामिछानेले ३६ औं ओभरको तेस्रो बलमा आशिफ खानलाई आउट गराए। ९९ बल खेलेका खानले ७२ रन बनाएर खेलिरहेका थिए। खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसअघि कुशल मल्ल र करण केसीले १-१ विकेट लिएका थिए। यो समाचार तयार पार्दासम्म युएईले ५ विकेट गुमाएर ३७ ओभरमा १४२ रन बनाएर खेलिरहेको छ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्। आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।

अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्। सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्