अध्यक्ष तिमिल्सिना भन्छन् : भ्रष्टाचारविरुद्ध लड्न इमान्दारिता र प्रतिबद्धता चाहिन्छ



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताएका छन् । साथै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने र सम्पत्ति घट्बढ भए अनिवार्य प्रभावकारी जाँच गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टस अग्नेस्ट करप्सन नेपाल च्याप्टर र संघीय सांसदहरुबीच ‘भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी’ विशेष छलफल अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन्।

त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्ननहुने धारणा राखे ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानालगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीय दलका ६५ जना नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा हुँदै आएका भ्रष्टाचार, अनियमितता र कमीकमजोरीको उदाहरण दिँदै भ्रष्टाचारविरुद्ध सबै मिलेर लडाई लड्नुपर्ने बताइन् ।

कार्यक्रमका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले विश्वव्यापी रूपमा भ्रष्टाचारविरुद्ध सांसदहरु संगठित हुन थालेकाले हामीले पनि गोप्याकको मञ्चका माध्यमबाट सो अभियानमा सक्रियता बढाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्