आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीपछि पीएनजीविरुद्ध नेपालको जीत



काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले पपुआ न्युगिनीलाई ३ विकेटले हराएको छ ।

पीएनजीले दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे। अविजित रहँदै आसिफले ८६ र सन्दीपले ३५ रन बनाए ।

उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै आउट भएपछि नेपाल संकटमा परेको थियो । ७४ रनमा ६ विकेट गुमाएको नेपाललाई आसिफले सम्हालेका थिए । १०५ रन जोड्दा कुशल मल्ल आउट भएपछि सन्दीप क्रिजमा आएका थिए ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि यसअघि यति धेरै रनको साझेदारी गरेको थिएन । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले हालसालै स्कटल्यान्डविरुद्ध ५५ रनको साझेदारी गरेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । त्यसअघि नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।

ज्ञानेन्द्र मल्ल ६ र भीम सार्कीले ८ रन बनाए भने आरिफ शेख र रोहित पौडेल एक एक रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ८ रन जोड्न सकेन । कुशल मल्लले २३ रन बनाए । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आसिफले भीम सार्कीसँग तेस्रो विकेटका लागि ३२, छैठौँ विकेटका लागि दीपेन्द्रसँग २१ र सातौँ विकेटका लागि कुशल मल्लसँग ३१ रनको साझेदारी गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर १७९ रन जोडेको थियो । सोमपाल र दीपेन्द्रले दुई दुई विकेट लिए भने सन्दीप, करन केसी र कुशल मल्लले एक एक विकेट हात पारे ।

विश्वकप लिग २ मा ३१ खेलबाट ३० अंक भएको नेपाल तालिकाको छेटौँ स्थानमा रहेको छ । जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल बिहीबार घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृंखलाको अन्तिम खेलमा नेपालले अब यूएईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्