किन हुन्छ दाँतमा सिरिङ–सिरिङ ?



काठमाडौं : चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ ।

यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ । दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ ।

कस्ता व्यक्तिलाई हुन्छ सिरिङ–सिरिङ ?
धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने , गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी । अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।

दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ब्यक्तिलाई दाँत सिरिङ–सिरिङ हुने समस्या आउन सक्छ ।

हाइपर सेन्सिटिभिटीबाट कसरी बचाउने ?
सबैभन्दा बढी हाइपर सेन्सिटिभिटी हुने कारणमा जोडले दाँत माझ्ने, ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्ट खिएर डेन्टिन देखिने अवस्था हो ।

त्यसैले ब्रस गर्नेबेला ध्यान दिने, नरम ब्रसको प्रयोग गर्ने, धुलो दन्तमन्जन नचलाउने, धेरै तातो र धेरै चिसो पनि नखाने । खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन नगर्ने , खाना खानासाथ कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।

साथै, फाइबर युक्त खाने कुराहरु खाने जस्तै (मकै, गहुँ, जौ, फापर, कोदो), गेडागुडी (चना, केराउ, मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ । साधारतया फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मद्धत गर्छ । यसरी दाँत बलियो तथा किरा लाग्न बाट बचाउन सकिन्छ । साथै समग्र स्वाथ्य राम्रो हुन्छ ।

(डा.हरि प्रसाद ओलीसंगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्