अन्त झेल, खेलकुदमा सफलताको भेल



काठमाडौं । आज ८ मार्च अर्थात् अन्तराष्ट्रिय महिला दिवस । महिलालाई हेर्ने दृष्टिकोणमा सबैभन्दा फराकिलो दायरा र विविधता भएको देश– नेपाल । घरबाट बाहिर निस्किँदा छोरीको खुट्टा ढोगेर आशीर्वाद लिएर निस्किने बाबुदेखि दाइजोका नाममा बुहारी जलाउनेसम्म छन् समाजमा । यो विविधताकाबीच नेपालको खेलकुदमा भने महिलाको लोभलाग्दो उपस्थिति छ ।

राजनीति, प्रशासन, निजामती सेवा, राजकीय जिम्मेवारीलगायतमा महिला उपस्थितिका विषयमा आलोचना खेपेको नेपालले खेल क्षेत्रमा भने महिलालाई स्थान दिन कन्जुस्याइँ गरेको देखिँदैन । अन्तर्राष्ष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पहिलो महिलाको यकिन तथ्याङ्क छैन । तथापि, जानकारीमा आएअनुसार सन् १९६० को विश्व टेबलटेनिस च्याम्पियनसिपमा रीता शाह मुखर्जीले सहभागिता जनाएको इतिहास छ ।
त्यसको २८ वर्षपछि तेक्वान्दो खेलाडी प्रमिला थापाले सन् १९८८ मा नेपालका लागि पहिलो अन्तराष्ट्रिय स्वर्ण पदक दिलाइन् । ३५ वर्ष अघिदेखि खेलकुद क्षेत्रमा महिला खेलाडीको विजयी यात्रा अहिलेसम्म निरन्तर छ ।

सन् १९९७ को एसियाली च्याम्पियनसिपमा सङ्गीना वैद्यले स्वर्ण पदक जितेर एसियाली च्याम्पियन हुने पहिलो नेपालीका कीर्तिमान कायम गरेकी थिइन् । यो कीर्तिमान अझै कायम छ । सङ्गीनाको सोही सफलता नेपाली खेलकुदको अहिलेसम्मको उत्कृष्ट परिणाम हो । सन् १९९८ मा सविता राजभण्डारीले एसियाली खेलकुदमा रजत पदक जित्दै अर्को कीर्तिमान कायम गरिन् । नेपाली खेलकुदमा एसियाडमा रजत पदक जित्ने सविता पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा एकैपटक प्याराग्लाइडिङले रजत पदक जितेको थियो ।

सन् २०१० को दशकमा नेपाली पुरुष फुटबल ओरालो लागेको थियो । त्यसै समयमा नेपाली महिला फुटबलले साख थेगेको थियो । ढाकामा भएको साफ फुटबलमा नेपाली महिला फुटबल टोलीले रजत पदक पाएको थियो । त्यसैगरी, नेपाली पुरुष ह्यान्डबल टोलीले कमजोर प्रदर्र्शन गरेको समयमा महिला ह्यान्डबल टोलीले साख जोगाएको थियो । एसियाली जोनल प्रतियोगितामा महिला ह्यान्डबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जितेको थियो । साग खेलकुदमा पुरुष ह्यान्डबल टोलीले कुनै सफलता नपाएको समयमा महिला ह्यान्डबलले कास्य पदक जितेको हो ।

भलिबलमा नेपाली पुरुष टोलीलाई महिला टोलीले त्यसैगरी पछाडि छाडेको छ । यो साग खेलकुदमा नेपाली महिला भलिबल टोलीले रजत पदक पाइसकेको छ । बास्केटबलमा पनि पुरुष टोलीले भन्दा पहिला महिला टोलीले सागमा रजत पदक जितिसकेको छ । त्यसो त नेपाली खेलकुदमा सबैभन्दा लामो समय प्रभाव र पकड जमाउने खेलाडी को हुन सक्छ ? भन्ने बहस हुन सक्छ ।

२ दशक उत्तिकै प्रभाव र पकड जमाउने खेलाडीका रूपमा कान्छीमाया कोजू छिन् । २ दशकअघि हाफ म्याराथनमार्फत् नेपाली एथ्लेटिक्समा उदाएकी कान्छीमायाको लामो समय ५ हजार र १० हजार मिटर दौडमा पकड थियो । बढ्दो उमेरसँगै उनले आफूलाई लामो दुरीको दौडमा केन्द्रित गरेकी छिन् । म्याराथन र हाफ म्याराथनमा उत्तिकै सक्रिय छिन् । अहिले नेपाली मध्यम दुरीमा सन्तोषी श्रेष्ठले अझ बेजोड प्रदर्शन गरिरहेकी छिन् ।

नेपालमा फेन्सिङ खेल स्थापना भएको धेरै वर्ष भएको छैन । पहिलो आधुनिक ओलम्पिकमा नै प्रवेश पाएको फेन्सिङ नेपालमा भित्रिएको १ दशक भएको छ । यो १ दशकको बीचमा नेपालले पदक जित्ने क्रमको सुरुआत सन् २०१९ मा थाइल्यान्डमा भएको सीयू अन्तर्राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा नेपालले व्यक्तिगत कास्य तथा टिममा रजत पदक जितेको थियो ।

अनिता कार्कीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पदक जित्ने नेपालीका रूपमा कीर्तिमान कायम गरेकी थिइन् । त्यसपछिका दिन विभिन्न आरोह र अवरोहको सामना गरेकी उनी कुनै पनि समयमा ‘कमब्याक’ गरेर उत्कृष्ट लयमा फर्कन सक्ने खेलाडीका रूपमा परिचित छिन् ।

खेल प्रशासनमा भने विभेद कायमै

खेलाडीको माझमा यो सफलता पाए पनि खेल प्रशासनमा भने महिला उपस्थिति कमजोर छ । नेपाल टेनिस सङ्घको नेतृत्वमा रहेकी ज्योति राणा मात्र प्रशासनिक नेतृत्वमा भएकी महिला हुन् । लगभग २०० खेल सङ्घ रहे पनि उनी एक्ली महिला अध्यक्ष हुन् । उनी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष पनि हुन् ।

त्यसैगरी, अस्मिता गुरुङ जेकेएफ गोजुकाई ताकुजी केन्बुकान कराँते एसोसिएसनकी महासचिव छिन् । नेपाल आईटीएफकी महासचिव अञ्चु रावत नेतृत्वमा प्रभाव जमाउने महिला हुन् । पूर्वअन्तराष्ट्रिय पदकधारी राउत मुख्य प्रशिक्षकसमेत हुन् । यसैगरी नेपाल फेन्सिङ सङ्घमा हेल्गा राणा उपाध्यक्ष छिन् ।

यी देखिएका केही अनुहार हुन् । अन्यथा नेपाली खेलकुद प्रशासनमा महिलाको उपस्थिति कमजोर नै छ । राष्ट्रिय खेलकुद परिषद्की पूर्वबोर्ड सदस्य अस्मिता गुरुङ पुरुषप्रधान समाजको संरचनाको असर खेलकुदमा परेको बताउँछिन् । उनको विचारमा पछिल्लो समय नेपाली राजनीतिको असर बढेपछि महिलाको प्रशासनिक नेतृत्वमा रुचि घटेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्