आङ्गिक क्याम्पसका बढी मतदाता, धेरै पृथ्वीनारायण क्याम्पसमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करीब १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन्।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी संख्या प्राप्त भएको बताए। उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता संख्या प्राप्त भएको छ। उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया शुरु नभएकाले मतदाता संख्या यकिन नभएको बताए।

उपत्यकाका २१ क्याम्पसमा ६६ हजार ६४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार ४३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन्। निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पीएन) बहुमुखी क्याम्पसमा रहेको बताए। पीएन क्याम्पसमा १० हजार ८७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ।

पीएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार २६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा ७ हजार १०९ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इन्जिनीयरिङ क्याम्पस चितवनमा ७१ छन्।

प्रतिक्रिया दिनुहोस्