अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका नाममा स्थानीय तहमा महिलाहरूको अधिकार कटौती भएको बताए। निर्वाचन आयोगले उपराष्ट्रपति महिला नै हुनुपर्ने बताएपछि एमालेको यसप्रकारको निर्णय आएको हो।

ज्ञवालीले पत्रकारहरूसँग भने, ‘हामीले हाम्रो मत सुरक्षित गरेका छौँ, हाम्रो मत वृद्धि गरेका छौँ।’ ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए।पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधानविपरीत भएको उनको भनाइ थियो।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ। उपराष्ट्रपतिको लागि मनोनयन दर्ता गर्न निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्