गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन



काठमाडौं । सत्ता गठबन्धन उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न असफल भएको छ। शनिबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको राउतले बताए। राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ।

‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ। यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो । किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ। जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ।’

राउतले जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको बताउँदै उनले नै उम्मेदवारी दर्ता गराउने बताए । जसपाले भने पुरुष र महिला गरी दुई जनाको आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको उनले जानकारी दिए। यसबारे भोलिसम्म सहमति जुटाएर एक जना साझा उम्मेदवार बनाइने उनको भनाई थियो।

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन जसपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक पार्टी मुख्यालयमा बस्ने छ। चार दल (नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र जसपा) बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। शनिबार दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्