विश्वकै तेस्रा पाका राष्ट्र प्रमुख रामचन्द्र पौडेल



काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल संसारका सातौँ पाका राष्ट्र प्रमुख भएका छन् । १४ अक्टोबर, १९४४ मा जन्मिएका पौडेलभन्दा जेठा राष्ट्र प्रमुख विश्वभर ६ जना मात्र छन् । तथापि यी ७ मध्ये राष्ट्रपतिमा पदबहाली गरेको समयको उमेर हेर्दा पौडेल तेस्रो पाको उमेरमा राष्ट्रपति भएका हुन् ।

क्यामरुनका ९० वर्षीय राष्ट्रपति पाउलबिया संसारका सबैभन्दा जेठा राष्ट्रपति हुन् । १३ फेब्रुअरी १९३३ मा जन्मिएका उनी नोभेम्बर १९८२ देखि राष्ट्र प्रमुख छन् । राष्ट्र प्रमुखमा चुनिँदा उनको उमेर ४७ वर्ष थियो।

‘कुना अबु माजेन’को नामले समेत चिनिने मोहम्मद अब्बास २६ मार्च, १९३५ मा जन्मिएका थिए। अब्बास मध्यपूर्वमा लामो समय प्रभाव जमाउने नेता हुन्। केही दिनपछि ८८ वर्ष पूरा हुने उनी ८ मे, २००५ देखि प्यालेस्टाइनका राष्ट्र प्रमुख छन् । उनी ७० वर्षको उमेरमा राष्ट्र प्रमुख भएका हुन्।

साउदी अरेबियाका ८८ वर्षीय सलमान संसारका ज्येष्ठ राष्ट्र प्रमुखमध्येका हुन् । पूर्वयुवराज सल्मान बिन अब्दुलाजिज अल साउद सन् २०१५ मा सुल्तान भएका हुन् । उनको जन्म ३१ डिसेम्बर, १९३५ मा भएको हो । उनी ८० वर्षमा राजा भएका हुन्।

२१ फेब्रुअरी, १९३७ मा जन्मिएका नर्वेका ८६ वर्षीय राजा हेराल्ड भी आफ्ना बाबुका तेस्रो सन्तान हुन् । सन् १९९१ मा उनको बाबुको मृत्यु भएपछि उनी राष्ट्राध्यक्षका रूपमा कार्यरत छन् । उनी ५४ वर्षको उमेरमा राजा भएका हुन्।

क्याथोलिक चर्चका प्रमुख ८६ वर्षीय पोप फ्रान्सिस सन् २०१३ देखि सार्वभौम भेटिकन सिटीका प्रमुख छन्। उनको वास्तविक नाम जर्ज मारियो बर्गेग्ली हो, जो अर्जेन्टिनाको ब्युनस आयर्समा १७ डिसेम्बर, १९३६ मा जन्मिएका हुन् । उनी ७७ वर्षको उमेरमा राष्ट्र प्रमुख भएका हुन्।

८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडन पनि संसारका पाका राष्ट्र प्रमुखको सूचीमा छन् । बाइडनको जन्म २० नोभेम्बर, १९४२ मा भएको हो। उनी सन् २०२१ मा ७८ वर्षको उमेरमा राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

जिम्बाबेका राष्ट्रपति ८० वर्षीय इमर्सन मनाङ्गवा सन् २०१७ देखि राष्ट्रपति पदमा आसीन छन्। उनको जन्म १५ सेप्टेम्बर, १९४२ मा भएको हो। उनी ७५ वर्षको उमेरमा राष्ट्र प्रमुख भएका हुन्।

४० नकटेका यी ३ राष्ट्र प्रमुख

संसारका कान्छा राष्ट्र प्रमुख भने बुर्किना फासोका इब्राहिम टाउरे हुन्। कम उमेरमै सेना प्रमुख बनेर सनसनी फैलाएका उनले ३४ वर्षको उमेरमै सत्ता कब्जा गरेका थिए । उनको जन्म २१ अप्रिल, १९८८ मा भएको हो।

जियोलोजीका विद्यार्थी टाउरेले पाउल डिमाबालाई बर्खास्त गरेका थिए। सेनाहरूको भिडमा उभिएर युवा टाउरेले सत्ता हातमा लिएको घोषणा गरेको दृश्यले संसारलाई नै आश्चर्यमा पारेको थियो।

चिलीका ३६ वर्षीया राष्ट्रपति गाब्रियल बोरिक प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने उद्घोषका साथ राष्ट्रपति भएका हुन्। उनको कार्यकालमा चिलीले वामपन्थी झुकाव राखेको थियो । उनको जन्म ११ फेब्रुअरी, १९८६ मा भएको हो।

उत्तर कोरियाका किम जोङ उन अर्का कान्छा राष्ट्र प्रमुख हुन् । लगातार आणविक हतियारको परीक्षण गर्दै संसारलाई तर्साइरहेका उनको जन्म १९८४ मा भएको हो। यकिन मितिबारे संसारलाई अन्योल भए पनि उनी ८ जनवरीमा जन्मिएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस्