लघुवित्तको पिरलो : लहडमा ऋण, तिर्न नसकेपछि घरबारविहीन



  • विशाल बस्नेत

महोत्तरी । महोत्तरीको गौशाला–१२ की साधना क्षेत्रीलाई लघुवित्तमा बचत गर्दा राम्रै लाग्यो। समूहमा बसेपछि ऋण लिनैपर्ने बाध्यकारी नियम बनाएपछि सुरुमा क्षेत्रीले थोरै ऋण लिइन् । ऋण लिएर कुखुरापालन व्यवसाय सुरु गरिन्।

नाफाबाट जेनतेन किस्ता तिरिरहेकी थिइन्। तर, कोरोना महामारीका कारण लकडाउन भयो। त्यसपछि भने उनलाई किस्ता तिर्न निकै सकस पर्‍यो। यहीबीचमा उनले गाउँबाट मिटर ब्याजमा पैसा लिएर ऋण तिरिन्। साधनाले ऋण तिरिसकेपछि पुनः लघुवित्तहरूले ऋण लिनुस्, तपाईं राम्रो ऋणी हो भन्दै फुक्र्याइदिए। क्षेत्री थप हौसिइन् र लघुवित्तबाट पुनः ऋण लिएर छोरालाई विदेश पठाउने तयारी गरिन्।

तर, छोरालाई विदेश पठाउने म्यानपावर कम्पनीका दलाल पैसा खाएर फरार भए । ब्याजमा लिएको ४ लाख रुपैयाँ ऋणको किस्ता तिर्न उनको आयस्रोतको सबै बाटा बन्द भइसकेका थिए । योबेलासम्म क्षेत्रीले कुखुरापालन व्यवसाय पनि छाडिसकेकी थिइन् । आम्दानीको स्रोत केही नभएपछि उनले २ वटा किस्ता तिर्न सकिनन्।

‘किस्ता तिर्न नसकेपछि जीवन विकास लघुवित्तका कर्मचारीले दैनिक घर घेर्ने, अपशब्द बोल्ने र अभद्र व्यवहारसमेत गरे,’ उनी भन्छिन् । लघुवित्तका कर्मचारीले दैनिक ताकेता गर्न थालेपछि उनी भागेर काठमाडौं आएर ७ दिनसम्म लुकेर बसिन् । ‘जसरी पनि तिर्छु भन्दा पनि नछाडेपछि लुकीलुकी हिँड्नुपरेको छ,’ क्षेत्री भन्छिन्।

बर्दिबास–१० की कवितामायाको पनि क्षेत्रीको जस्तै समस्या छ । कवितालाई पनि जीवन विकास लघुवित्तले ऋण लिनैपर्ने बताएपछि सुरुमा १ हजार ऋण लिइन्। समूह भनेको थाहा नै नपाएकी कविताले ऋणभन्दा बढी बचत गर्न थालिन् । बचत गर्दै गएपछि १ हजार रुपैयाँ ऋण लिएकी उनले दोस्रो पटक २० हजार रुपैयाँ ऋण लिएर तरकारी खेतीमा लगानी गरिन्।

निर्धारित समयमै किस्ता तिरेकी कविताले २० हजार ऋण तिरिसकेपछि जेठानीको घर बनाउन आफ्नै नाममा ३ लाख रुपैयाँ पुनः ऋण निकालिन्। ‘मैले यो ऋणको १ किस्ता तिर्न सकिनँ, त्यसपछि जीवन विकास लघुवित्त र स्वालम्बन लघुवित्तले दिएको पीडा खप्नै नसक्ने छ,’ उनी भन्छिन्।

‘कर्मचारीहरू बिहान १० बजे आए भने ५ बजेसम्म घरमा नै धर्ना दिन्थे’, उनी भन्छिन्, ‘त्यसपछि घर छाडेर खेतमा समेत लुकेर बसेँ।’ १२ प्रतिशत ब्याज तोकेर २० प्रतिशतसम्म लिने गरेको उनको आरोप छ। इन्दु महतोको बर्दिबासमै घर थियो। घर बनाउन नपुगेको पैसा महतोले स्वावलम्बन लघुवित्तबाट निकालिन् । सुरुमा क्षेत्री र कवितालाई ऋणप्रति आकर्षित गरेजस्तै लघुवित्तले महतोलाई पनि लोभ्यायो।

१० लाख ऋण लिएकी उनले पनि समयमा किस्ता बुझाउन सकिनन्। ‘लघुवित्तका कर्मचारी घरमा आउन थाले, दिनभरि धर्ना दिन थाले । अहिले गाउँबाटै भागेको छु, ऋण तिर्न सक्ने भएपछि मात्र घर फर्किन्छु,’ द नेपालटपसँग उनले टेलिफोनमा भनिन्। लघुवित्त संघर्ष समिति महोत्तरीकी सचिव सिलम यादवका अनुसार महतोजस्तै महोत्तरीकै चन्द्रकला भुजेल, अम्बिका भुजेल, मेनुका भुजेल गाउँ नै छाडेर बेपत्ता छन् । ‘उनीहरू अहिले साथीहरूको सम्पर्कमा पनि छैनन्,’ सचिव यादव भन्छिन्।

भुजेलत्रयमाथि लघुवित्तले आत्मनिर्भर बनाउने भन्दै ऋण लगानी गर्‍यो। उनीहरूले त्यो पैसाले किराना पसल खोले। किराना पसल जेनतेन चल्दै थियो । तर, कतिपय किस्ता तिर्नुपर्ने रकममा १ हजार, ५०० पुगेन । यही विषयलाई लिएर स्वावलम्बन, जीवन विकास लघुवित्तका कर्मचारीहरूले बारम्बार किस्ताको सबै रकम नतिरे पसल नै बन्द गरिदिने धम्की दिए।

‘श्रीमान् विदेशमा भएकाले भनेका बेला भएन, दिनरात कर्मचारीले टर्चर दिन थालेपछि पसल नै बन्द गरेर तीनै जना बेपत्ता छन्,’ सचिव यादव भन्छिन् । महोत्तरीका महिलाहरू पनि लघुवित्तबाट लिएको ऋण समयमा तिर्न नसकेपछि धमाधम घर छाडेर भाग्न थालेका छन्। ‘बिनाधितो सामूहिक ऋण लगानी गर्ने वित्तीय संस्थाहरूका कारण कतिपय महिला गाउँ नै छाडेर हिँड्न बाध्य छन्,’ लघुवित्त संघर्ष समिति महोत्तरीकी सचिव सिलम यादव भन्छिन् ।

लघुवित्त संघर्ष समिति महोत्तरीका अध्यक्ष युवराज रसाइली लघुउद्यमी बनाउने नाममा लघुवित्तहरूले महिलालाई नै चरम शोषण गरिरहेको दाबी गर्छन् । उनका अनुसार महोत्तरीमा मात्र ५०० भन्दा बढी महिला घर छाडदै हिँड्ने अवस्थामा पुगेका छन् ।

१ जनाको नाममा ७० लाखभन्दा बढी लगानी

बर्दिबास–३ पाटुकी लक्ष्मी नेपाल दुलाललाई लघुवित्तहरूले सामूहिक ऋणको नाममा ७० लाख रुपैयाँभन्दा बढी लगानी गरेपछि ३५ जनाभन्दा बढी महिला समस्यामा परेका छन् । मिर्मिरे, जीवन विकास, छिमेकी, स्वावलम्बन, नेरुडे जस्ता १ दर्जन लघुवित्तवाट ऋण निकालेर उनी फरार छिन्।

सामान्य महिलालाई यति धेरै ऋण लगानी गरेका लघुवित्तले उक्त पैसाका लागि समूहमा बसेका स्थानीय महिलालाई नै घेराबन्दी गर्दै आएका छन्। ‘दिनभरि घर–घरमा आउँछन्। तर, हामी तिर्न सक्दैनौँ भन्दै फर्काएका छौँ,’ एक जना पीडित महिला भन्छिन्।

प्रतिक्रिया दिनुहोस्