बारा पुगेर माधव नेपालले भने : संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्। जसपा अध्यक्ष एवम् बारा क्षेत्र नं. २ मा प्रतिधिनिसभा सदस्यका उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता औँल्याएका हुन्।

बाराको क्षेत्र नं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए। बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका हुन्। नेता नेपालले भने,‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई विजयी गराउन पार्टी पंक्ति र सिंगो बाराबासीलाई आग्रह गर्दछु।’

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।

अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग पनि भेट गरेका थिए। भेटका क्रममा मधेश सरकारका गतिविधि र बाराको चुनावी अभियानबारे छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्