फास्ट ट्याकबाट पारित गर्ने सत्ता पक्षको प्रस्तावमा ओली असहमत



काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा सहमति जुट्न नसकेको हो ।

सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरे । ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुङ्गिने स्पष्ट पारे । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानुपर्ने बताए ।

उनले छलफलमा संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको बताए । उनले भने, ‘सदनका काम कारबाहीहरूको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’

 

प्रतिक्रिया दिनुहोस्