संस्थागत विद्यालयले किताब बेच्नु दण्डनीय : मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले संस्थागत विद्यालय आफैंले किताब बेच्नु दण्डनीय भएको बताएका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा महानगरपालिकाको परिपत्र राख्दै उनले पोशाक पनि तोकिएकै ठाउँबाट किन्न अभिभावकलाई बाध्य पारिएकोप्रति समेत आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोशाक समेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’ उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन्।

महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए। महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्