रवि भन्छन्- सांसदले २ करोड मागेको काण्डबारे अख्तियारमा निवेदन दिन्छु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ प्रकरणमा जोडिएकाहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्र चितवनमा चुनावी अभियानका क्रममा रहेका लामिछानेले सोमबार सभामा बोल्दै २ करोड मागिएको काण्डमा आफ्नै वरपरका मान्छेहरूलाई पनि आरोप लागेकाले उनीहरूविरुद्ध अख्तियारमा आफैँले उजुरी दिने बताएका हुन्।

‘जसले, जसले गल्ती गरे पनि कारबाही गर्न सक्छु भन्ने छाती लिएर हिँडेको छ, उसलाई कसैको डर छैन, कसैलाई बचाउनु छैन। मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ। आज म आफैँ अख्तियारमा निवेदन दिनेछु’, उनले भने, ‘मेरै वरपर भएका ती मान्छे को हुन्? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ। सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्