मिथिलामा जुड-शीतल पर्व मनाइँदै



महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा शनिवार ‘जुडशीतल’ पर्व मनाइँदैछ। विक्रम संवत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ। वैशाख संक्रान्तिका दिन सुरू हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन छ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्दछ। यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूल देवता) लाई चढाउने परम्परा छ। बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ। त्यसैगरी गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवल सहितका तरुवा पर्वका खास परिकार मानिन्छन्।

वैशाख संक्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू गरिन्छ। पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित ७ थरि खाद्यान्नको सातु र माटोको अम्खरामा सखरको सर्वत बनाएर कूल देवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ। बढ्दो गर्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन्।

पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । ‘सतुवाइन’ मैथिल (मिथिलाका वासिन्दा) ले हिजै सम्पन्न गरेका छन्। पर्वको दोस्रो दिन अर्थात् आज वैशाख–२ गते घरघरमा परिवारका श्रेष्ठ सदस्यले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशिर्वाद दिएका छन्।

नयाँ वर्षले जीवनमा शितलता प्रदान गर्न सकोस्भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको भनाइ छ। यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ। जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ।

धुलो र हिलो माटो छेपाछेप गर्नु पनि कृषि कार्यमा सधैं लागि रहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृति तथा परम्पराका जानकार सेवानिवृत शिक्षक भङ्गाहा–७ मेघरोलका वासिन्दा चन्द्रनारायण सिंह थारु बताउँछन्। खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको अन्तर्य रहने हुँदा यो कृषि पर्व रहेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय किसान नथुनी महतोको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्