वर्षमान पुनकी आमालाई नियतवश गोली नचलाएको प्रहरी हवल्दारको बयान



काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले  बताएका छन्  । उनले बयानको क्रममा यस्तो बताएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको प्रहरीले जनाएको छ । शुक्रवार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यस क्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासि गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।घटनाबारे प्रहरीलाई मध्य राति १ बजे मात्रै खबर आएको थियो । त्यतिञ्जेल प्रकाश त्यहाँबाट भागिसकेका थिए । बिहान उनको कोठाबाट नियन्त्रणमा लिइएको एआईजी ज्ञवाली बताए ।

पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।

हवल्दार प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत हुन्, उनी । रोल्पामा उनी छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।

प्रतिक्रिया दिनुहोस्