एसिड अाक्रमणमा मारिएकी सम्झनाकाे हत्या ठूलाेबुवा पर्ने पासवानले गरेकाे पुष्टि



काठमाडौं : एसिड आक्रमणमा परी गम्भीर घाइते रौतहटकी १८ वर्षीया सम्झना दासको आइतबार राति निधन भएको छ ।

 

गत भदौ २६ गते राति सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला एसिड प्रहार भएको थियो । घटनाको बाह्रौं दिनमा सम्झनालाई अस्पतालले मृत घोषणा गरेको हो । एसिडले सम्झनाको शरीरको ३५ प्रतिशत भाग जलेको थियो । आक्रमणमै परेकी १५ वर्षीया सुस्मिताको उपचार भइरहेको छ ।

 

चन्द्रपुर अस्पतालबाट रिफर गरी दुवै दिदीबहिनीलाई काठमाडौं ल्याइएको थियो । अस्पतालमा सम्झनाका बुवा जादोलाल थिए । उनीसँगै जो छिमेकी कुरुवा बसेका थिए, तिनै ५० वर्षीय रामबाबु पासवानले एसिड प्रहार गरेको प्रहरीको दाबी छ ।

 

पासवानको हातमा एसिडले जलेको चिह्न थियो । उनले लगाएको चप्पलमा पनि एसिड परेको चिह्न भेटिएको थियो । त्यसपछि प्रहरीले शंका गरी अनुसन्धान थालेको हो । उनले सुरुमा इन्कार गरे । उनलाई बचाउन जाँदा पोलेको भनेर प्रहरीलाई बताएको उनका छिमेकीले जानकारी दिए ।

प्रहरीका अनुसार यौन प्रस्ताव नमान्दा एसिड खन्याएको उनले स्विकारेका छन् । ५० वर्षीय पासवानले बारम्बार यौन प्रस्ताव राखे पनि सम्झनाले वास्ता नगर्दा एसिड प्रहार गरेका हुन् । सम्झनाले यो कुरा होसमा हुँदा बुवालाई पनि सुनाइसकेकी थिइन् । परिवारका अनुसार दास दिदीबहिनी भने पासवानलाई ठूलोबुवा मान्ने गर्थे । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्