पिपलपाते नेता ! कहिले यता, कहिले उता



काठमाडौं । नेपाली शब्दकोशअनुसार पिपलपाते त्यो हो, जो कुनै सिद्धान्तमा अड्दैन, मौकाअनुसार यता–उता भइरहन्छ र अवसरवादी हो। यस्तो चरित्र भएकालाई नै समाजले पिपलपाते उपमा दिन्छ।

इतिहास र वर्तमान नियालेर हेर्दा नेपालको राजनीतिक क्षेत्रमा सबैभन्दा बढी मौलाएको प्रवृत्ति र अभ्यास नै पिपलपाते हो। र, यस्तो प्रवृत्ति दलका सिद्धान्तमा भन्दा नेतामा सबैभन्दा बढी देखिन्छ। पिपलपाते नेताको मूल चरित्र कहिले यो दल र कहिले त्यो दल चहारिरहनु हो। यसका पछि उद्देश्य हुन्छ, सुविधा र अवसरको उपभोग।

पछिल्लो पटक राजनीतिक वृत्तमा देखिएका पिपलपाते नेता हुन्– चूडामणि जंगली। एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य थिए, जंगली। उनी एमालेको सिद्धान्त र नीतिको चर्को आलोचक थिए । तर, मंगलबारबाट उनको स्वभाव परिवर्तन भयो, उनी एमालेका सच्चा पहरेदार भएर निस्किए । किनकि उनले नेकपा एस छाडे र आफूलाई एमालेमा पुनः विलय गराए ।

नजिकबाट चिन्नेहरू उनी गण्डकी प्रदेशको पार्टी राजनीतिमा एमालेका तर्फबाट अग्रमोर्चामा उदाउने दाउका साथ एमाले प्रवेश गरेका हुन्। ‘जुन दिनसम्म उनी एमालेमा पद र प्रतिष्ठा पाइरहन्छन्, त्यो दिनसम्म अब उनी एमाले नै भए,’ जंगलीको पार्टी प्रवेशको कारणबारे द नेपालटपको जिज्ञासामा एमाले गण्डकी प्रदेश कमिटीका एक नेताले व्यंग्यात्मक शैलीमा भने।

नेपाली राजनीतिमा पिपलपाते चरित्रका नेताको पंक्तिमा जंगली एक्ला बृहस्पति होइनन्। बारा–२ मा जनमत पार्टीबाट उम्मेदवार बनेर चुनावी घरदैलो गरिरहेका नेता शिवचन्द्रप्रसाद कुशवाह मनोनयनको अघिल्लो दिनसम्म नेकपा माओवादी केन्द्रका नेता थिए। आमनिर्वाचनमा पार्टीले टिकट नदिएपछि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिए पनि जित निकाल्न सकेनन्।

पार्टीले टिकट नदिएको झ्वाँक फेर्ने समय पर्खिरहेका उनलाई उपचुनावको मुखमा जनमत पार्टी टिकट दिन घरमै आइपुग्य। त्यही दिनबाट उनी जनमत पार्टीका नेतामात्र होइन, सो क्षेत्रका उम्मेदवार नै बने। माओवादीमा लामो समय बिताएका उनको अहिलेको चुनावी मूल एजेन्डा नै माओवादी खराब हो भन्ने भाष्य निर्माण गर्नमा केन्द्रित छ।

उपनिर्वाचनमा दलबदलु बनेर नेतृत्वमा उदाउने ‘छिर्के दाउ’मा लागेका अर्का नेता हुन्, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले। मनोनयन अघिसम्म उनी कांग्रेसको प्रतिबद्ध कार्यकर्ता थिए । कांग्रेस घोषणापत्र मस्यौदा समितिमा बसेर कामसमेत गरेका वाग्ले पार्टीका तर्फबाट सो क्षेत्रमा टिकट पाउनेमा ढुक्क थिए। तर, कांग्रेसले उनको ठाउँमा गोविन्द भट्टराईलाई टिकट दिएपछि सामाजिक सञ्जालमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा र सभापति पत्नी आरजु देउवालाई ‘राजनीतिक निष्ठाको पाठ’ सिकाउदै पार्टी छाडेको घोषणा गरे ।

लगत्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको अनलाइन फारम भर्ने औपचारिकता पूरा गर्दै सो पार्टीमा समाहित भएको घोषणा गरे। यति गरेपछि तनहुँ–१ मा चुनाव लड्ने उनको महत्वाकांक्षा रास्वपाले पूरा गरिदियो। यो रिस फेर्न तनहुँमा अहिले कांग्रेस महामन्त्री गगन थापादेखि शीर्ष तहका नेतासमेत वाग्लेको विगतबारे पोल खोलाखोल गरिरहेका छन् । वाग्ले भने कांग्रेसलाई इतिहासकै खराब पार्टी पुष्टि गर्न लागिपरेका छन्।

कहिले यता कहिले उता गरिरहने नेताको अग्रमोर्चामा प्रभु शाह पनि पर्छन् । माओवादी सशस्त्र विद्रोहमा सहभागी उनी सो पार्टीमा रहुन्जेल कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ त कहिले डा. बाबुराम भट्टराई निकट भइरहे। नेकपा विभाजनपछि एमाले रोजेका उनले आमनिर्वाचनको मुखमा पाएको टिकट पनि छाडेर रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर जिते।

केही अघिमात्र आमजनता पार्टी गठन गरेर अध्यक्ष बनेका उनी सत्ता गठवन्धनमा सहभागी भएर मन्त्री बन्न चाहन्थे। तर, गठबन्धनबाट धोका पाएपछि उनी यतिबेला गठबन्धन भत्काउने एमालेसहितका दलहरूको योजनामा सहभागी हुने मौकाको पर्खाइमा छन् । बारा–२ को उपनिर्वाचनमा रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । प्रहरी अधिकृतका रूपमा लोकप्रिय छवि बनाएका खरेलले नागरिक सुशासन पार्टी खोलेर राजनीति थाले ।

गत आमनिर्वाचनमा काठमाडौं–१ बाट पराजित भएपछि पनि उनको सांसद बन्ने महत्वाकांक्षा मरेन । त्यही भएर उपनिर्वाचनमा उनी पार्टीलाई नै रास्वपामा विलय गराउँदै बारा–२ मा चुनावी मैदानमा छन् । नेपाली राजनीतिमा अवसरका लागि दल फुटाउन प्रेरित गर्ने र दल विभाजनको समयमा पुरानै दलमा आबद्ध हुनेहरूको ठुलो जमात छ । एमाले पार्टीमा ‘१० बुँदे पक्षधर’ भनिने सुरेन्द्र पाण्डे लगायतको पार्टी विभाजनमा ठुलो भुमिका रहेको जिकिर एमालेका नेताहरूले गरिरहे । तर अन्ततः उनीसहितका नेता एमालेमै फर्किए, टिकट पनि पाए । तर, चुनाव भने जित्न सकेनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको घेराबन्दीमा नेतृत्वदायी भूमिकामा रहेका पाण्डेसहित भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई र भीम आचार्यलगायत एमालेमा नै रहे । त्यसो त नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका धेरै नेता केही समयमा नै एमालेमा फर्केका थिए।

यसमा हाल बारामै उम्मेदवार भएका पुरुषोत्तम पौडेल पनि हुन्। बाराकै नेकपा एसका नेता मुकुन्द न्यौपानेले पनि २५ चैतमा नेकपा एस छाडे। ५० को दशकदेखि नै नेपालका प्रिय पात्रका रूपमा परिचित उनी पनि एमाले प्रवेशको तयारीमा रहेको नेताहरूको दाबी छ।

पार्टीमा पिपलपाते चरित्र देखाउने पंक्तिमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालदेखि पीताम्बर तिमल्सिनासम्मको ठुलो जमात पनि छ। रिजाल लामो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका खास नजिकका मानिन्थे। पार्टी विभाजनपछि उनी एमालेमै रहे। नेपाल शक्तिमा हुँदा रिजाल अत्यधिक लाभ लिनेमध्येका मान्छिन्।

नेकपा एसका तिमल्सिना लामो समय ओली निकट मात्र थिएनन्, लाभ पनि हात पारेका थिए। साझा पार्टीबाट राजनीति सुरु गरेका रवीन्द्र मिश्र त अस्थिरताका उपमा नै ठहरिए । साझा पार्टीको स्थापना गरेका मिश्रले पछि विवेकशील नेपाली दलसँग एकता गर्दै विवेकशील साझा पार्टी बनाएका थिए।

२०७७ सालमा दोस्रो पटक एकीकरण भए पनि मिश्रको व्यक्तिगत स्वार्थ र पद परस्त राजनीतिका कारण सो दल नै छिन्नभिन्न हुन पुगेको थियो। त्यसरी विवेकशील साझालाई तहसनहस पारिसकेपछि मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर हाल वरिष्ठ उपाध्यक्ष छन्।

प्रतिक्रिया दिनुहोस्