धरानमा रमिता, जनप्रतिनिधिको ‘दम्भ’ले सार्वभौम अभ्यासको खिल्ली



काठमाडौं । पालिकाभित्र जनप्रतिनिधिबीच रहेको असन्तुष्टि र मनमुटावको विषय कुनै नौलो होइन। देशका प्रायजसो पालिकाबाट यस्ता घटना बेलाबखत बाहिर आउने गरेकै छन्।

प्रमुखसँग उपप्रमुखको असन्तुष्टि र प्रमुख, उपप्रमुखसँग वडाध्यक्षहरूको असन्तुष्टि हुनु सामान्य विषय हो। तर, बिहीबार धरान उपमहानगरपालिकाबाट बाहिरिएको असन्तुष्टि भने सबैको चासो र बहसको विषय बनेको छ। धरानका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले उपमहानगरपालिकाको ‘लेटर हेड’ नै प्रयोग गरेर वडाध्यक्षहरूको राजीनामा मागेका छन्।

विगतका वर्षमा प्रमुखले उपप्रमुखमाथि हातपात गरेको र प्रमुखबाट वडाध्यक्ष नै कुटिएका खबर पनि आएका थिए। तर, यसरी वडाध्यक्षहरूको राजीनामा नै मागिएको घटना भने यो नै पहिलो हो। उनले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन आग्रहसहितको चेतावनी दिएका हुन्।

बिहीबार निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्विपलाई जनताको हितभन्दा ठुलो मानेर विकासे बैठकहरू बहिष्कार गरेको भन्दै खेद प्रकट गरेका छन्। पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेर वडाध्यक्षहरूले जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि खेलबाड गरिरहेको आरोप साम्पाङले लगाएका छन्।

उनले जारी गरेको पत्रमा राजीनामा मागिए पनि वडाध्यक्षहरूलाई बैठकमा आउनसमेत आग्रह गरिएको छ। बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नैपर्ने हामी सबैको कर्तव्य हो। यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन । यो बाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिनँ’ भन्न पाइँदैन।’

यसलगत्तै उनले चेतावनीसहितको आग्रहपूर्ण भाषामा वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्। पत्रमा लेखिएको छ, ‘आफ्नो कर्तव्य पूरा नगरेको र जनताको काम गर्न अक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आमधरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ।’

उपमहानगर प्रमुख साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेको विषयमा नगरपालिका संघका उपाध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा भने दुवै पक्षले गलत अभ्यास गरेको बताउँछन्। कुनै पनि जनप्रतिनिधिले आफू जस्तै अर्का जनप्रतिनिधिको राजीनामा माग गर्नु गलत भएको उनको टिप्पणी छ।

‘मेयरज्यू जस्तै वडाध्यक्षहरू पनि त्यस वडाका बहुमत जनताले चुनेर बनाएका जनप्रतिनिधि हुन्। उहाँलाई रिस उठ्यो भन्दैमा त्यसरी राजीनामा माग्न कहाँ पाइन्छ र !,’ सापकोटा भन्छन्, ‘उहाँले चालेको कदम गलत हो।’

त्यस्तै, पालिकाको बैठकमै नजानु वडाध्यक्षहरूको गलत कदम भएको सापकोटा बताउँछन्। उनी भन्छन्, ‘बैठकमै नजाने भन्ने हुँदैन। आफ्ना असन्तुष्टि कार्यपालिकाको बैठकमै राख्ने हो। त्यसैले बैठक बहिस्कार गर्ने निर्णय गर्नु वडाध्यक्षहरूको भुल हो।’

उता, मेयर साम्पाङले समन्वय र सहमतिबिना आफूखुसी काम गरेको र बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै १ महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन्। ४ वैशाखमा बोलाइएको कार्यपालिका बैठक वडाध्यक्षहरू उपस्थित नभएपछि स्थगित भएको थियो। २० वटा वडा रहेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा ३ जना वडाध्यक्षहरूको मात्र उपस्थिति थियो र गणपुरक संख्या नपुगेर बैठक स्थगित भयो।

उक्त बैठकमा प्रमुख साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा–६ का अध्यक्ष भूपेन्द्र भट्टराई, वडा–१४ का अध्यक्ष कृष्ण भट्टराई र वडा–४ का अध्यक्ष धनबहादुर राई मात्र उपस्थित भएका थिए। ती वडाध्यक्षहरूले महत्वपूर्ण एजेन्डाहरू पास हुन नसकेको भन्दै बैठक नै बस्न नसक्नुलाई गलत अभ्यास भएको बताउँदै उनीहरूले आफूलाई चित्त नबुझेको कुरा बैठकमै राख्नुपर्ने बताएका थिए। गत १ चैतमा बसेको बैठक पनि एजेन्डामा प्रवेशै नगरी स्थगित भएको थियो।

यसको जड भने करिब डेढ महिनाअघि सुरु भएको थियो । कारण थियो– नगर प्रमुखका स्वकीय सचिव सुर्दशन लिम्बूले २९ फागुनमा गरेको एउटा पत्राचार। उक्त पत्रमा लिम्बूले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने गरी सबै वडा कार्यालयहरूलाई ‘विभिन्न योजना तथा कार्यक्रमको सूची पठाउनू’ भन्दै निर्देशन दिएका थिए।

यो पत्रले सबै वडाध्यक्षहरू साम्पाङसँग चिढिएका थिए। मुख्यतः यही विषयका कारण बैठक बस्न नसकेको उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए। अरू पनि कारण भए पनि बैठक नै नबस्नुको मुख्य कारण यही भएको उनी बताउँछन्। स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए । केही वडाध्यक्षहरूले त हातमा कालोपट्टी बाँधेरै साम्पाङको विरोध गरेका थिए ।

उपप्रमुख बेघाले भने यस विषयलाई मिलाउन आफूले पहल गर्ने बताएका छन्। र, यसका लागि दुवै पक्षसँग चाँडोभन्दा चाँडो छलफल गर्ने उनले बताए। असन्तुष्ट वडाध्यक्षहरू भने आफ्ना ५ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। २९ फागुनको पत्रका विषयमा प्रमुखको माफी, स्वकीय सचिवको राजीनामा जस्ता माग उनीहरूको छ।

यस्ता घटना हुनुमा हाम्रो राजनीतिक चेत नै मुख्य कारण रहेको एक राजनीतिक विश्लेषक बताउँछन्। उनका अनुसार पार्टीबाट बनेका जनप्रतिनिधिले स्वतन्त्रबाट आएका जनप्रतिनिधिलाई नटेर्नु अहिलेको मुख्य समस्या बनेको छ।

‘पार्टीका मुद्दा स्वतन्त्रले नबुझ्ने हुँदा उनीहरूको स्वार्थ पूरा हुँदैन र पार्टीका कार्यकर्ता जसरी जनप्रतिनिधिहरू खनिन्छन्,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्तिले विकास सम्भव छैन। सबै मिल्नुको अर्को विकल्प पनि छैन।’

प्रतिक्रिया दिनुहोस्