तीन वटै क्षेत्रमा ६० प्रतिशत मत खसेको अनुमान, बारा २ मा सबैभन्दा बढी मतदान



वीरगन्ज । बाराको क्षेत्र नम्बर २ सहित ३ क्षेत्रमा भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । बाराको क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । अर्यालकाअनुसार बाराको क्षेत्र नम्बर २ मा सबैभन्दा बढी मतदान भएको छ । बारा २ मा ६४ प्रतिशत मतदान हुँदा चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार आइतबार सम्पन्न उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २ सय ४७ जना मतदाता रहेका थिए । मतदान सम्पन्न भएसँगै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको काम भइरहेको छ । बाराको क्षेत्र नम्बर २ का मतपेटिका कलैयास्थित शिक्षा तालिम केन्द्रमा साँझ ८ बजेभित्रै ढुवानी हुनेछ । त्यस्तै चितवन क्षेत्र नम्बर २ का मतपेटिका उद्योग वाणिज्य सङ्घको हल भरतपुरमा राति १० बजेभित्र र तनहुँ क्षेत्र नम्बर १ का मतपेटिका जिल्ला समन्वय समिति परिसर दमौलीमा रात्रि ११ बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

मतगणना स्थलमा मतपेटिका पुगेसँगै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मतगणना निर्देशिका २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशनबमोजिम वैशाख १२ गतेभित्रै परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्