अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाँची



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार केही समयका लागि हवाई उडान र अवतरण नै बन्द भयो । सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको थियो ।

यसकारण करिब २ घन्टासम्म आइतबार नेपालको आन्तरिक तथा बाह्य उडान प्रभावित बनेको थियो । जहाजसँग सम्पर्क स्थापित गर्ने ‘एरिया अप्रोच सेन्टर’ र ‘कन्ट्रोल अप्रोच सेन्टर’मा समस्या आएसँगै जहाजहरूको उडान र अवतरण बन्द भएको थियो ।

विमानस्थलका अनुसार विमानस्थलको टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएको र टावरबाट नजिकै रहेका जहाजसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित भएको थियो । साथै, नेपालका विभिन्न क्षेत्रबाट काठमाडौँका लागि उडेका जहाजसमेत सम्बन्धित विमानस्थलमै फिर्ता पठाउनुपरेको थियो ।

देशको सबैभन्दा पुरानो र ९५ प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यो अवस्था कुनै नयाँ भने होइन । यहाँ कहिले के बिग्रिन्छ र भत्किन्छ, त्यसको टुंगो छैन ।

गत ८ फागुनमा पनि विमानस्थलको सर्भर डाउन हुँदा करिब २ घन्टा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए । त्यस समयमा सामान्य इन्टरनेटमा समस्या भएको भन्दै विमानस्थलको अध्यागमन विभाग पन्छिएको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने सर्भरमै समस्या देखिएको जानकारी दिएको थियो । त्यस समयमा के भएको हो भन्ने विषयमा दुवै निकायले आ–आफ्नै जबाफ दिएका थिए ।

देशको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय विमानस्थलको यो स्तरको भद्रगोलको यो त पछिल्लो एउटा उदाहरण मात्र हो । यस्ता घटना हरेक १–२ महिनामा भई नै रहेका छन् ।
करिब ३ महिनाअघि अध्यागमन कार्यालयको सर्भर ५ घन्टासम्म डाउन हुँदा ११ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए । १४ माघ, २०७९ मा प्रायः सबै सरकारी वेबसाइट एकैपटक डाउन हुँदा त्यसको असर विमानस्थलमा पनि परेको थियो ।

दिउँसो १२ देखि ४ बजेसम्म र बेलुकी ७ देखि ८ बजेसम्म गरी ५ घन्टा सर्भर बन्द हुँदा दुबई, भारत बंगलादेशका उडानहरू प्रभावित भएका थिए । गत वर्षको वैशाखमा पनि अध्यागमन विभागको सर्भरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए ।

देशको अन्तर्राष्ट्रिय विमानस्थलको यो दुरवस्थाले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा पनि असर पु¥याइरहेको छ । घन्टौँसम्म सर्भर डाउन हुनु, विमानस्थल र विमानबीच सम्पर्क स्थापित गर्ने उपकरण नै बिग्रिनुले सरकारको प्रविधिप्रति उदासीनतालाई छर्लंग पारेको छ । यस विषयमा सरकारले प्रविधिको क्षेत्रमा सधैँ उदासीनता देखाउने गरेको आरोप प्राविधिकहरूले लगाउने गरेका छन् ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान)का महासचिव चिरञ्जीवी अधिकारी यसलाई सरकारकै कमजोरी भएको ठोकुवा गर्छन् । ‘देशको प्रतिष्ठा र इज्जतसँग सोझै सरोकार राख्ने विषयमा पनि यस्तो लापरबाही गर्नुहुन्छ ?,’ उनी भन्छन्, ‘संसार प्रविधिमा कहाँबाट कहाँ पुगिसक्यो, हामी भने सानातिना समस्याकै कारण देशको प्रमुख विमानस्थल ठप्प पार्नुपर्ने अवस्थामा छौँ ।’

सरकारप्रति रुष्ट हुँदै अधिकारीले भने, ‘देशका नेताहरूले राजनीति मात्र गरे प्रविधिको गतिमा हिँड्न सकेनन् । न आफैँ गर्छन् न निजी क्षेत्रसँग सहकार्य गर्छन् । यसरी त प्रविधिको यो गुगमा नेपाल कसरी अघि बढ्न सक्ला र ?’ जे भए पनि देशको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता समस्या हरेक महिनाजसो दोहोरिइरहनुले नेतृत्व र व्ययवस्थापनमाथि भने प्रश्नचिह्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्