मिसन ग्रासरुटपछिको एमाले उत्साह : अबको चुनावमा चाहिँ एकल बहुमत !



काठमाडौँ । ५ फागुन, २०७९ देखि २ महिनासम्म सञ्चालन भएको नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियानले नेता कार्यकर्ताहरू पार्टीप्रति कति इमान्दार छन् भन्ने विषय उजागर गरेको छ ।

आगामी चुनावमा एमालेको एकल बहुमत ल्याउने लक्ष्य राखेर सुरु गरिएको यो अभियानले पार्टीभित्रका नेताहरूकै सबैभन्दा बढी ‘शल्यक्रिया’ गरेको नेताहरूले बताएका छन् ।

अभियानको बीचमा पार्टीभित्र रहेका इमानदार कार्यकर्ताको पहिचान र नेतृत्वको अवसर तथा खराब अर्थात् पार्टीप्रति घातअन्तर्घात गर्ने नेता कार्यकर्ताको पहिचान भएको पार्टीको निष्कर्ष छ ।

फागुन र चैतका लागि घोषणा गरिएको यो अभियान अहिले समीक्षा र प्रतिवेदन बनाउने चरणमा छ । अभियान अवधिमा पार्टीलाई लेबी नबुझाउने, पार्टीको नीतिविपरीत गतिविधि गरेको, चुनावमा पार्टीलाई घात गरेको जस्ता समस्याहरू पहिचान भएको नेताहरूले जनाएका छन् ।

२२ वैशाखसम्म प्रदेशसहित स्थानीय र विभिन्न भ्रातृ संगठनका कमिटीहरूको समीक्षा र प्रतिवेदन निर्माण सक्ने लक्ष्य रहेको महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार सबै कमिटी र भ्रातृ संस्थाको प्रतिवेदन केन्द्रीय कमिटीमा छलफल हुने र केन्द्रीय कमिटीले अन्तिम प्रतिवेदन बनाउनेछ ।

कमिटीको आफ्नै नीति

अभियानमा देखिएका सबल र दुर्बल पक्षको सम्बन्धित कमिटीमा छलफल गरेर प्रतिवेदन बनाउने महासचिव पोखरेलले बताए । उक्त प्रतिवेदनका आधारमा कमिटीलाई आफ्नो क्षेत्रको विशेषता र आवश्यकताअनुसारको नीति बनाउने अधिकारसमेत दिने तयारी भएको उनले बताए ।

स्थानीय तहहरूको प्रतिवेदन, भ्रातृ संस्था र प्रदेश कमिटीको प्रतिवेदनमाथि केन्द्रले अध्ययन गर्ने र सम्बन्धित कमिटीलाई उत्तरदायी बनाउने गरी नीति बन्ने पोखरेलले बताए । उनका अनुसार अधिकांश स्थानीय तहको प्रतिवेदन केन्द्रमा आइसकेको छ । प्रदेशले प्रतिवेदन लेखनका लागि छलफल-बहस गरिरहेको छ ।

्यरसरी प्रारम्भिक छलफलबाटै पार्टीभित्र देखिएको असन्तुष्टि र समस्या पहिचान र निराकरण गर्ने प्रयास भइरहेको छ । विभिन्न संघ–संगठनले पनि आफ्नो प्रतिवेदन बनाउने तयारी गरिरहेका छन् । कतिपयले प्रतिवेदन बुझाइसकेका छन् ।

४ वर्षमा ४० प्रतिशत जनमत निर्माण

अभियानले आगामी आमनिर्वाचनपछि ४० प्रतिशत जनमत निर्माण गर्ने दरिलो आधार तय गरेको एमालेको ठहर छ । यो अभियान नेपालको राजनीतिक इतिहासमै बृहत् र ऐतिहासिक भएको एमालेको दाबी छ ।

१० लाख पार्टी सदस्य दाबी गर्ने एमालेले यो अभियानपछि ८ लाख पार्टी सदस्यलाई सक्रिय रूपमा परिचालन गर्ने नीति लिने पोखरेलले बताए । १ क्रियाशील सदस्यले ५ जना समर्थक बनाउनुपर्ने नीति पार्टीले लिने उनले बताए । यसो गर्दा ४० लाख जनमत एमालेको पक्षमा हुने उनको दाबी छ ।

यसका लागि पार्टीले अहिलेको समय सुहाउँदो नीति कार्यक्रम बनाउने तयारी छ । सूचना प्रविधिको व्यापक प्रयोग, संगठन निर्माणमा नवीनता, नेता कार्यकर्ता नियमित जनताको सम्पर्क र सेवामा रहने, पार्टी कमिटीका जिम्मेवार नेताहरूलाई फिल्डमा पठाउने, जनताको पक्षमा वा जनताले रुचाउने नेतालाई जिम्मेवारी दिने, युवा पंक्तिको विशेष परिचालनलगायत नीति ल्याउने तयारी रहेको पोखरेलले बताए ।

पार्टीको चुनाव चिह्न सूर्यमा भोट नहाल्ने तर पार्टीभित्र गुटबन्दी धेरै गर्ने नेता कार्यकर्ताको पहिचान भएको र तिनलाई पार्टीले निर्मम भएर कारबाही गर्नुपर्ने गरी आएका सुझावलाई केन्द्रीय कमिटीले कार्यान्वयन गर्ने नीति लिएको पोखरेलको भनाइ छ ।

उनका अनुसार अभियानका क्रममा कार्यकर्ताको मागअनुसार दीर्घकालीन योजना बनाएर नेता कार्यकर्ताले अनिवार्य प्रशिक्षण लिनुपर्ने नीतिलाई कडाइका साथ पालना गर्ने पार्टीको तयारी छ ।

जनप्रतिनिधिको मनपरी, सदस्यले तिर्दैनन् लेबी

२ महिनासम्म चलेको पार्टीको अभियानले विगतमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू इमानदार नबन्दा पार्टीमा समस्या आएको एमालेले निष्कर्ष निकालेको छ । जनप्रतिनिधिकै गतिविधिका कारण अघिल्लो पटक निर्वाचित भएको स्थानमा दोस्रो पटक पराजित हुने गरेको अभियानपछिको समीक्षाले देखाएको छ ।

जनप्रतिनिधिहरू पार्टीको घोषणपत्रभन्दा फरक रूपमा काम गर्ने कारण पार्टीसँग जनता रुष्ट रहेको अभियानको निष्कर्ष छ । जनता केन्द्रितभन्दा आर्थिक लेनदेनमा जनप्रतिनिधिको बढी ध्यान जाने देखिएको नेताहरू बताउँछन् ।

स्थानीय तह र केन्द्रका भन्दा जिल्ला तहका नेताहरूमा बढी समस्या पहिचान भएको छ । जिल्लाका नेताहरू स्वार्थी, पदलोलुप र चर्को अन्तरविरोध छन् । पार्टीले तोकिदिएको क्षेत्रभन्दा बाहिर जाने नेताहरू (केन्द्र, प्रदेश र जिल्ला)ले आफ्नो जिम्मेवारी भने गतिलोसँग निर्वाह नगरेको समीक्षा भएको नेताहरूको भनाइ छ ।

पार्टीका जिम्मेवार सदस्यहरूले नै पार्टीलाई लेबी नबुझाएको अभियानबाट पत्ता लागेको छ । पार्टीलाई लेबी नबुझाउने नेता कार्यकर्तालाई कार्यक्रममा ल्याएर सदस्य नवीकरण गर्न लगाइएको छ । निष्क्रिय रहेका नेता कर्याकर्तालाई जिम्मेवार बनाइएको एमालेले जनाएको छ ।

चुनावमा नेताहरूबाटै घात अन्तर्घात भएको पाइएको छ । यो अभियानको क्रममा पनि पार्टीमा युवा पंक्तिको सहभागिता न्यून रहेको पाइएको छ । भ्रातृ संगठनमा क्रियाशील भएका नेता कार्यकर्ता पार्टीको मूल कमिटीमा नजोडिने समस्या धेरै देखिएको छ ।

पार्टी कमिटी ठुलो, धेरै र भद्दा भएको धेरै नेता कार्यकर्ताको गुनासो धेरै छ । पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्को प्रारम्भिक प्रतिवेदनलाई मात्र हेर्ने हो भने पनि धेरै आलोचनात्मक सुझावहरू पार्टीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्