संसदीय समितिको नेतृत्व र टीआरसीमा जुट्यो सहमति 



काठमाडौँ । सिंहदरबारमा बसेकाे काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक सकिएको छ । सिंहदरबारका बसेको आजको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन विशेष समिति गठन गर्ने सहमति गरेकाे छ ।

एमालेको अडानबमोजिम संसदीय समितिको नेतृत्वमा पनि दलहरूबिच सहमति भएको छ । एमालेले २ विशेष समितिमध्ये राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने  सहमति  भएको जनाइएको छ ।

त्यस्तै संसदीय विशेष सुनुवाइ समितिको सभापति काँग्रेसले लिने सहमति भएको छ । १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति  आजको बैठकले गरेको जनाइएको छ ।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सम्बन्धी विधेयक सीधै संसद्मा लगेर पारित गर्ने सहमति  जनाएका छन् । संवैधानिक परिषद्सम्बन्धी कानुनमा समस्याका कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन ।

वार्तामा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्