निर्वाचन खर्च सार्वजनिक नगरेका उम्मेदवाहरूले फेसबुक, ट्वीटर र ईन्स्टाग्रामबाट पनि सार्वजनिक गर्ने सक्ने



काठमाडौँ । अझै पनि २०७९ को मङ्सिरमा भएको निर्वाचनमा ५५६१ उम्मेदवारहरूले उपनिर्वाचन हुँदासम्म पनि आफ्नो खर्च विवरण बुझाएका छैनन् । मङ्सिर को निर्वाचनको खर्च विवरण नबुझाएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले खर्च बुझाउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न  सक्ने बताएकाे छ ।

यस्तै राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट(राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, ईन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने भएका छन् ।

यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई दिनु पर्ने निर्णय भएको आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४)बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने २,३७३ जना उम्मेदवार र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने ३,१८८ जना उम्मेदवारहरू ७ दिनको म्याद दिई खर्च विवरण सार्वजनिक गर्न वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो । निर्वाचन आयोग निर्देशनपछि धेरै उम्मेदवारहरूले आफ्नो विवरणहरू  बुँझाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्