सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने सरकारको लक्ष



काठमाडौं : नेपालले सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष लिएको छ । नेपालले औलो रणनीति योजना २०१४–२०२५ अनुसार सन २०२५ सम्म औलो शून्यको लक्ष्य राखेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

विश्व औलो दिवसका अवसरमा मंगलबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा औलोबाट हुने मृत्युलाई शुन्यमा लैजान विविध कार्यक्रम गरिरहेको जानकारी दिए । सन् २०१६ पछि हालसम्म औलोबाट एकजनाको मात्र मृत्यु भएको रेकर्ड छ । तर अझैपनि एक करोड भन्दा बढी नेपाली औलोको जोखिममा रहेको बताइएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार १ करोड १ लाख ४० हजार ४५० नेपाली औलोको जोखिममा छन् । ८ जिल्लाका ९ पालिकामा पर्ने १४ वटा वडा औलोको उच्च जोखिममा रहेको सन २०२२ मा गरिएको औलोको स्तरीकरणमा देखाइएको छ । यस्तै १० जिल्लाका २४ पालिकाभित्रका ३९ वडा मध्यम जोखिममा रहेका छन् ।

६७ जिल्लाका ४१४ पालिकाका २३१८ वडा औलो सामान्य जोखिममा रहेको बताइएको छ । नेपालमा औलोका स्थानीय केस निकै कम भएपनि छिमेकी मुलुक भारतका कारण नेपाल धेरै जोखिममा रहेको दाहालले जानकारी दिए । दाहालका अनुसार सन २०२२ मा भारतका विभिन्न राज्यबाट ४१५ औलोका केस नेपाल भित्रिएका थिए ।

जसमा महाराष्ट्रबाट २२४ र गुजरातबाट १०८ केसी भित्रिएका थिए। विदेशबाट आयाती केस मध्ये ८७ प्रतिशत भारतबाट आएको दाहालले बताए । अफ्रिका लगायत अन्य देशबाट पनि औलो भित्रिए पनि मुख्य चुनौती भारत नै रहेको दाहालको भनाइ छ। सन २०२३ सुरु भएयता नेपालमा ११३ वटा औलोका केस देखिएका छन् । जसमा स्थानीय केस ३ मात्रै छन् । सन २०२५ सम्म नेपालमा औलोको स्थानीय केस शून्य हुनेमा आफूहरु विश्वस्त रहेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्