रास्वपाको सानदार कमब्याक



काठमाडौं । गत आइतबार भएको ३ वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा २ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले र चितवन–२ मा पार्टी सभापति रवि लामिछाने विजयी भए । सार्वजनिक भएको मतपरिणामका विषयमा मतादाता पूर्वजानकार भए पनि ठुला र पुराना भनिएका दलहरूलाई यसले नराम्रैसँग धक्का दिएको छ।

तनहुँ पक्का हो र चितवन एमालेसँगको लडाइँ हो भन्ने कांग्रेस अहिले ‘अकल्पनीय नतिजा आएकाले यो समीक्षाको विषय भएको’ बताउँदै छ। उता, एमाले पनि ३ वटै क्षेत्रमा जित्ने आसका साथ मैदानमा थियो। तर, कांग्रेस जस्तै तनहुँ र चितवनमा रास्वपाको बबन्डरमा बढारियो।

दशकौँ पुराना दललाई रास्वपाले दिएको हारको चस्का सायद उनीहरूको समीक्षाको विषय बन्ला। तर, जनताले के चाहेका छन् ? भन्ने विषयले त्यो समीक्षामा प्रवेश पाउनेमा आशावादी हुने ठाउँ देखिँदैन । किनकि गत निर्वाचनमा पनि यो अवस्था देखिएकै थियो । तर, दलहरू त्यसप्रति गम्भीर नहुँदा अहिलेको परिणाम भोग्न बाध्य भए ।

यस विषयलाई एमालेले पनि स्वीकार गरेको अवस्था छ। अहिलेको चुनावी परिणामलाई स्वीकार गर्दै पाल्पा–२ का प्रतिनिधिसभा सदस्य एवं एमाले नेता ठाकुरप्रसाद गैरे पार्टीभित्र आमूल परिवर्तनको आवश्यकता रहेको बताउँछन्।

‘उपनिर्वाचनमा यस किसिमको परिणाम आउनेतर्फ हामीलाई ४ मंसिरकै नतिजाले संकेत गरिसकेको थियो । यसमा हामीले ‘ग्रासरुट’ तहमै छलफल सुरु गरिसकेका छौँ,’ उनले भने, ‘यस विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुन्छ ।’ तर, पार्टीभित्र गम्भीर समीक्षा नहुनुले कुनै कुनै अर्थ नराख्ने राजनीतिक विश्लेषक डा. ज्ञानबहादुर बस्नेत बताउँछन्।

उनले भने, ‘जबसम्म राजनीतिक दलहरूले जनताको चाहना र माग बुझ्न सक्दैनन्, तबसम्मका लागि अब परिणाम भोगिरहनेछन्। अबको समय कुनै ‘फिलोसफी’को होइन, विकासको हो।’ बस्नेतको विचारमा एमाले नेता सहमत भए पनि अहिले रास्वपाले पाएको मत सीमित समयका लागि मात्र भएको र फेरि जनताले आफ्नै पार्टीलाई भोट दिनेमा विश्वस्त देखिन्छन्। एमाले नेता गैरे पार्टीको बचाउ गर्दै भन्छन्, ‘रास्वपालाई जनताले विश्वास गरेर र केही गर्छ कि भनेर मत दिएका होइनन्, यो त हामीलाई सच्चिन आग्रह गरेका मात्र हुन्।’

तनहुँमा अप्रत्यासित परिणाम

तनहुँ–१ लाई आफ्नो गढका रूपमा स्थापित गरेको कांग्रेसलाई उपनिर्वाचनको मतपरिणामले राम्रै धक्का दिएको छ । कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवारी दिएका वाग्लेको कांग्रेस परित्याग र त्यसको प्रत्यक्ष असर ‘ब्यालेट बक्स’मा देखियो । ४ मंसिरको निर्वाचनमा २५ हजार ३६१ मत पाएको कांग्रेसलाई ४ महिनामै तनहुँ–१ का ५ हजारभन्दा बढी जनताले पत्याएनन् । अहिले त्यसै क्षेत्रबाट वाग्लेले ३४ हजार ९१९ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । जुन अघिल्लो निर्वाचनको भन्दा ५ हजार कम मत हो ।

तनहुँ–१ को निर्वाचन इतिहास हेर्ने हो भने पहिलो संविधानसभा र २०७४ सालको आमनिर्वाचनबाहेक बाँकी सबै निर्वाचनमा यहाँ कांग्रेस नै हाबी हुँदै आएको थियो। २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भएको यस क्षेत्रमा २०५१ सालमा कांग्रेसकै गोविन्दराज जोशी विजयी भएका थिए । उनै जोशी २०५६ सालको आमनिर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए ।

पहिलो संविधानसभामा माओवादी विजयी भएको यस क्षेत्रमा दोस्रो संविधानसभामा पनि नेपाली कांग्रेस नै विजयी भएको थियो । विजयी उम्मेदवार थिए शंकर भण्डारी। २०७४ सालमा भएको आमनिर्वाचनमा यस क्षेत्रबाट एमालेका कृष्णकुमार श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

त्यस्तै, गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल कांग्रेसको शाख फिर्ता ल्याउन सफल भएका थिए। उनै पौडेल राष्ट्रपतिमा चयन भएपछि भएको उपनिर्वाचनमा ती दुवै दललाई पाखा लगाउँदै रास्वपाका वाग्ले विजयी भए। भट्टराईलाई जिताउन मैदानमै खटिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको मिहिनेतले कुनै सार्थकता पाउन सकेन।

त्यति मात्र होइन, तनहुँको चुनावी सभामै पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मञ्चबाटै गोविन्द भट्टराईलाई जिताए मन्त्री नै बनाउने घोषणा गरेका थिए । तर, तनहुँका जनताले मन्त्रीको त्यो ललिपप रुचाएनन् । एमाले पनि काठमाडौंमा हारेका सर्वेन्द्र खनाललाई तनहुँमा जिताउने प्रयासमा थियो । तर, जम्मा ८ हजार ४८८ मतमै समेटियो । यो मत संख्या ४ मंसिरमा एमालेले पाएको भन्दा कम हो ।

को हुन् ऐतिहासिक जित निकाल्ने वाग्ले ?

२०३१ सालमा गण्डकी प्रदेशको गोरखामा जन्मेका डा. स्वर्णिम वाग्ले नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन्। उनले २०७९ र २०७४ सालको आमनिर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

३ वर्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका वाग्लेले २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए। त्यस्तै, २०७७ देखि २०७९ सालसम्म राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को न्युयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार भएर डा. वाग्लेले काम गरेका छन्।

बेलायतको ‘लन्डन स्कुल अफ इकोनमिक्स’बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्वड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कुलमा गरेका थिए। उनी अहिले काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य एवं सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस)का अध्यक्ष छन्।

नेपाली कांग्रेसमा लामो समयसम्म रहेका वाग्ले गत चैतमा उक्त पार्टी छाडेर रास्वपामा गएका थिए। उपनिर्वाचनका लागि पनि कांग्रेसले टिकट नदिने भएपछि उनले रास्वपा रोजेका थिए । रास्वपामा जानासाथ तनहुँ–१ को टिकट पाएका वाग्लेले जितेर पनि देखाइदिए ।

रविको पक्षमा थपियो अभिमत

निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ५ गुणा बढी मत ल्याउनु कुनै सामान्य घटना होइन । चितवन–२ मा रास्वपाका रवि लामिछानेले ल्याएको मतको अंकगणित हो यो । लामिछाने ५४ हजार १७६ मत पाउँदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितनारायण श्रेष्ठले जम्मा ११ हजार २१४ मत पाए । यी २ उम्मेदवारबीचको मतान्तर हेर्ने हो भने ४२ हजार ९६२ मतको फरक छ । नेपालको संसदीय निर्वाचनको इतिहासमा यो अनौठो घटना पनि हो ।

४ मंसिरमा भएको निर्वाचनमा लामिछानेले यसै क्षेत्रबाट ४९ हजार ३०० मत पाएका थिए। जुन अहिलेको भन्दा करिब ५ हजारले कम थियो । तर, बितेका ४ महिनामै लामिछानेले आफ्नो पक्षमा ५ हजार मत थप्न सफल भए । यसले चितवनबासीमा पुराना दलप्रतिको बढ्दो असन्तुष्टिलाई झनै पुष्टि गरेको छ ।

यहाँ सोचनीय विषय के पनि छ भने कांग्रेस र एमालेले पाएको मत विश्लेषण गर्ने हो भने यसपटक ४ मंसिरमा पाएको मतभन्दा धेरै नै कम पाएका छन्। ४ मंसिरमा कांग्रेसले यस क्षेत्रबाट १४ हजार ९८८ र एमालेले १४ हजार ६५२ मत पाएका थिए । अहिले कांग्रेसको पक्षमा ११ हजार २१४ र एमालेको पक्षमा १० हजार ९३६ मत खस्यो। ४ महिनाकै अन्तरालमा कांग्रेस र एमाले जस्तो पार्टीको ४ हजार मत घट्नुले जनतामा आमूल परिवर्तनको अपेक्षा रहेको सहजै अनुमान गर्न सकिन्छ ।

अर्को विषय के पनि हो भने जनताले जुन अपेक्षामा रास्वपालाई भोट दिएका छन्, त्यो अपेक्षा पूरा नहुने हो भने फेरि त्यही पुरानै ढर्रामा ‘ब्यालेट बक्स’ले परिणाम दिने पक्का छ । यस अर्थमा आफ्नो अस्तित्व जोगाउने हो भने रास्वपा जस्ता दलहरूले जनताको चहनालाई सम्बोधन गर्नैपर्छ । यसको कुनै विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्