समाजवादी मोर्चाको गृहकार्य : ‘कोर टिम’ सक्रिय, अधिकांश नेता अनभिज्ञ



काठमाडौं । पुराना दलमाथि जनताको विश्वास गुम्दै गएका बेला नेपालका कम्युनिस्ट पार्टीहरू भने समाजवादी मोर्चा बनाउन जुटेका छन्। नेकपा माओवादी केन्द्रको पहलमा यो अभियान तीव्र रूपमा अघि बढिरहेको छ।

२३ पुस, २०७९ मा नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सदस्य रहेको समिति बनाएको थियो। उक्त समितिको पहलमा माओवादी घटकहरू एक भएर लाग्ने अवस्थामा पुगेका छन् भने माओवादी घटकबाहेकका विचार मिल्ने पार्टीहरू समेत मिलेर समाजवादी केन्द्र बनाउने अभियान तीव्र रूपमा अघि बढिरहेको छ।

समाजवादी मोर्चा बनाउन माओवादी घटकबाहेक जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीसमेत सक्रिय छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमा समाजवादी मोर्चा बनाउन सक्रिय रहेको बताएका छन्।

‘प्रचण्डजीले समाजवादी मोर्चा बनाऔँ भनेर बारम्बार ताकेता गर्नुभएको छ। समाजवादी मोर्चा बनाएर जनतासामु घोषणा गर्ने सोचेका छौँ,’ एक सार्वजनिक कार्यक्रममा नेता नेपालले भने, ‘विचार मिल्ने स–साना पार्टीहरूलाई जोड्दै गइनेछ । विचार, सिद्धान्त, व्यवस्थापनको कार्यशैली र कार्यनीति मिल्यो भने एमालेबाहेकको एउटै पार्टी बन्छ।’

नेपालले मोर्चा बनाउने घोषणा गरिरहँदा पुराना पार्टीप्रति जनताले चरम निराशा व्यक्त गरेका छन् । नेताहरू आफू कमजोर हुने अवस्थामा गठबन्धन गर्ने, मोर्चा बनाउने गर्छन् । तर, इतिहासले भने नेताहरूका यस्ता प्रयास सधैँ असफल भएको देखाएको छ । माओवादी, समाजवादी र जसपाका केही नेताको ‘कोर टिम’ मोर्चा बनाउने गृहकार्यमा जुटिरहँदा ती पार्टीका अन्य नेतालाई भने कुनै जानकारी छैन ।

‘समाचारहरूमा मोर्चा बनाउने खुब सुनिएको छ, तर पार्टीका हामीजस्ता अधिकांश नेतालाई यस विषयमा कुनै जानकारी छैन,’ माओवादी केन्द्रका एक नेताले द नेपालटपसँग भने । माओवादी अध्यक्ष प्रचण्डले समेत समाजवादी मोर्चा बनाएर नेकपाकालीन अवस्थातिर फर्कने घोषणा गरिसकेका छन्। प्रचण्डले २०७४ मा आफूले नै एकताको प्रस्ताव गरेको भन्दै राष्ट्रिय स्वाधीनता र एकता तथा जनजीविकाका साथै गणतन्त्र सुदृढ गर्न पनि कम्युनिस्टहरू एक हुन जरुरी रहेको बताउँदै आएका छन् ।

नेकपा विभाजन गर्न उत्प्रेरकको भूमिका खेल्ने माधव नेपाल एमालेबाहेक कम्युनिस्टबीच एकता गर्ने सार्वजनिक घोषणा गरिरहेका छन् । तर, उनकै पार्टिका कतिपय नेता भने पार्टीभित्र यस विषयमा ठोस छलफल नै नभएको बताउँछन्। अहिले ‘समाजवादी मोर्चा’ बनाउन ३ वटा पार्टीबीचमा छलफल भइरहेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए। ३ वटा पार्टीबीचमा मोर्चा बनाउने विषयमा छलफल भए पनि विचार मिल्ने अन्य पार्टी पनि सहभागी हुन सक्ने श्रेष्ठले बताए।

श्रेष्ठले ३ वटा पार्टी मात्र भने पनि समाजवादी मोर्चा निर्माणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि सक्रिय छ। माओवादी केन्द्रसँग एकता गर्नुपर्ने दबाबमा रहेको उनको पार्टी तत्काल मोर्चा बनेको अवस्थामा एकतामा जानबाट टर्ने स्वार्थसहित यो अभियानमा जोडिन खोजेको नेताहरूको दाबी छ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रमुख सचेतक मेटमणि चौधरीले भने पहिलो चरणमा ३ पार्टीको मोर्चा बनाउने तयारी रहेको बताए । मोर्चा निर्माणको गृहकार्य गर्ने टिममा रहेका चौधरी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायत दलहरूलाई भने दोस्रो चरणमा सहभागी गराउने तयारी भइरहेको बताउँछन् । उनका अनुसार विप्लव, भट्टराईसमेत यो अभियानमा सक्रिय छन् ।

यस्तो छ, कोर टिम

समाजवादी मोर्चा निर्माणका लागि नेकपा माओवादी केन्द्रका तर्फका ५ जना नेता सक्रिय छन्। वरिष्ठ उपाध्यक्ष महराको नेतृत्वमा महासचिव गुरुङ र उपमहासचिवहरू पोखरेल, बस्नेत र शर्मा छन् । यीमध्ये अहिले बस्नेत बढी सक्रिय छन्। जसपाका नेता श्रेष्ठ मुख्य गरी अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न लागेका छन्। श्रेष्ठका अनुसार ‘समाजवादी मोर्चा’ बनाउन अध्यक्षहरू नै सक्रिय छन्।

उनीहरूलाई सहयोग गर्न भने आवश्यकताअनुसार दोस्रो तहका नेताहरू लागिपरेका छन् । त्यस्तै, एकीकृत समाजवादीबाट उपमहासचिव गंगालाल तुलाधार, महासचिव घनश्याम भुसाल, मेटमणि चौधरी र विजय पौडेल सक्रिय भएर लागेका छन् । माओवादी केन्द्रसँग पार्टी एकताका लागि समेत विभिन्न चरणमा छलफल गरिसकेको नेकपा एकीकृत समाजवादीमा यसअघि वेदुराम भुसाल, प्रकाश ज्वाला सक्रिय थिए। उनीहरू मन्त्री भएपछि भने तुलाधर, भुसाल र पौडेल सक्रिय रहेको चौधरीले बताए ।

चौधरीका अनुसार समाजवादी मोर्चा गठनको सैद्धान्तिक खाकासमेत तय भइसकेको छ । तर, सो खाकामा के विषय समेटिएको छ भन्ने विषय भने सार्वजनिक गर्ने बेला भइनसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्