उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत



काठमाडौँ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

 सम्पन्न उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा सहभागीमध्ये ८६।१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने नेपालको कानुनी व्यवस्था रहेको छ । जसअनुसार  उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत  ल्याउनुपर्ने  हुन्छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को  दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्