अयोग्य लडाकुलाई २ लाख दिने भन्ने विष्णु पौडेलकै पालाको बजेटमा ल्याइएको हो : माधव सापकोटा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अन्मिनले अयोग्य ठहर गरेका लडाकुहरूलाई २ लाख रुपैयाँ दिने निर्णय एमाले सरकारमा रहेको वेलामा भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकमा माओवादी सांसद सापकोटाले २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा उक्त व्यवस्था गरिएको बताएका छन् ।  यता एमाले भने अयोग्य लडाकुलाई अहिलेको मुलुकको आर्थिक अवस्थाले धान्न नसक्ने बताएका छ ।

सर्वोच्चमा मुद्दा परेपछि रोकिएको त्यस बेला रोकिएको यो विषय अहिले अदालतकै आदेशअनुसार अगाडि बढाइएको र माननीय विष्णु पौडेलकै नेतृत्वमा ल्याइएको बजेट वक्तव्य र अदालतको आदेश अनुसार अहिले सरकारले खाली कार्यविधि मात्र विकास गर्न खोजेको हो  माओवादी सांसद सापाकोटाले बताएका छन् । उनले एमालेले अहिले हावाका भरमा भ्रमित पार्न खोजिरहेको पनि बताए ।

यो व्यवस्था लडाकुहरूले लडेर ल्याएको भन्दै माओवादी सांसद सापकोटाले भने, ‘युद्ध लडेर आएका लडाकुहरू, जसले वीरताको सङ्कल्प गरे, व्यवस्था परिवर्तनका लागि बलिदान गर्न तयार भए, तीनलाई २ लाख पैसाका लागि अपमान गर्ने ? ’

प्रतिक्रिया दिनुहोस्