जनकपुरमा आज जानकी नवमी मनाइँदै



जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ। आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ। वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ।

जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ। जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ।

आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए। जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन्।

प्रतिक्रिया दिनुहोस्