रास्वपाले समर्थन फिर्ता लिँदैन, सरकारमा आउने बारे छलफल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्। प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन्। रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको उनले बताए।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए। रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे। प्रधानमन्त्री दाहालले भने, “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन।”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए। उनले भने, “सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ की भन्ने भ्रम हो।” सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा बसेको बताए। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, “भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो। हाँसीहाँसी ।” बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले थपे, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहामा नै उहाँ बसेको भन्ने बुझेको छु।” पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए।

पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए। तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए। तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको उनले बताए।

आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए।

प्रतिक्रिया दिनुहोस्