डाक्टरको परामर्श शुल्क बढाइयो,  कसले कति सम्म लिन पाउने



काठमाडौँ । नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन)ले  परामर्श शुल्क बढाउनले निर्णय गरेको छ ।आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।  चिकित्सक सङ्घ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको जनाएको छ ।

१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक सङ्घ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैङ्कको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजनिक गरेको हो । परामर्श शुल्क कार्यान्वयन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरिएको छ ।  एमबिबिएस र बीडीएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरूले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउने विज्ञप्तिमा भनिएको छ । डिप्लोमा चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ६७० शुल्क लिन पाउनेछन् । एमडी, एमएस र एमडीएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ८०० रुपैयाँ शुल्क लिन पाउने भएका छन्।

डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरूले परामर्श शुल्कबापत ८८० रुपैयाँ लिन पाउनेछन् । डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरूले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा मासिक रूपमा नियुक्ति लिएका मेडिकल अफिसरको हकमा भने न्यूनतम तलब ४२ हजार रुपैयाँ कायम गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्